एमाले छोड्ने वा अन्य पार्टी प्रवेश गर्ने कुनै सोच छैन : भीम रावल

  बुधबार ३०, जेठ २०८१ १५:५५

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्व उपाध्यक्ष डा. भीम रावलले एमाले छोड्ने वा अन्य पार्टी प्रवेश गर्ने कुनै सोच नभएको बताएका छन् ।

एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला गलत प्रचारका लागि भइरहेको भन्दै नेकपा (एकीकृत समाजवादी) वा अन्य पार्टी प्रवेश गर्ने कुनै सोच नभएको बताएका हुन् । कामको सिलसिलामा गृह जिल्ला अछाम पुगेका रावलले एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला निराधार भएको बताए ।  

उनले भने ‘एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी भएको भए उत्पाद भाइरल हुन्थ्यो होला । केही घोषणा वा वक्तव्य आउँथ्यो होला । म अहिले अछाममा छु । एमालेको कार्यकर्ता भेला र कार्यक्रममा सहभागी भइरहेको छु । पार्टी प्रवेश बेकारको हल्ला हो । त्यस्तो अहिले त्यस्तो कुनै सोच छैन’ । 

वैशाखको दोस्रो साता ललितपुरको गोदावरीमा बसेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रवेश पास नबनाएकोमा उनले आक्रोश पोखेका थिए । आफूमाथि निषेधको राजनीति भएको आरोप लगाउँदै विकल्प खोज्नुपर्ने स्थितिमा पुगेको बताएका थिए । 

२०७८ मङ्सिरमा चितवनको सौराहामा भएको १० औँ महाधिवेशनमा अध्यक्षका लागि केपी ओलीसँग प्रतिस्पर्धा गरेका रावलले त्यसयता पार्टीको केन्द्रीय पदको जिम्मेवारी लिएका छैनन् । अध्यक्षमा उम्मेदवारी दिएकै कारण आफूमाथि ओलीले निषेधको राजनीति गरेको उनको गुनासो गर्दै आएका छन् । 

clock बुधबार ३०, जेठ २०८१ १५:५५

प्रतिक्रिया