सुदूरपश्चिममा कांग्रेसले भन्यो ‘गलत बजेट आए पारित हुँदैन’

  मङ्गलबार २९, जेठ २०८१ १४:३७

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमल बहादुर शाहले प्रदेश सरकारले अनुपयुक्त नीति तथा कार्यक्रम आएको दाबी गरेका छन् ।

आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वतमान मुख्यमन्त्री समेत रहेका शाहले नीति तथा कार्यक्रम गलत रहेको र उक्त नीति तथा कार्यक्रम अनुसारको बजेट आए प्रतिवाद गर्ने बताए।

‘यो नीति तथा कार्यक्रममा भएको धेरै कुरा बजेटमा आउनु हुँदैन । यसलाई सुधार गरेर लैजानु पर्छ ’ उनले भने, ‘नीति तथा कार्यक्रम अनुसारको बजेट आए हामी प्रतिवाद गर्छौ । ’उनले बजेटको रातो किताब हेरेर विरोधको शैली तय गरिने बताए ।

‘हामीले व्यक्तिगत फर्मलाई पैसा नहाल्ने प्रयास गरेका थियौँ तर, त्यो नीति तथा कार्यक्रममा आएका छन् ’ उनले भने ‘खल्तीका आयोजना हाम्रो नेतृत्वको सरकारले सृजना गरेको होइन आज पनि त्यहि भइरहेको छ। हामी त्यसको विरोध गर्छौ । ’

बिचौलियाको बिगबिगी भन्दै उनले बिचौलिया केन्द्रित बजेट आए पास गर्न नदिने बताए । संघीय अनुदान कम आएको बेला सरकारले बढि बजेट ल्याउन खोजेर आर्थिक भार थप्न खोजेको भन्दै त्यसको विरोध गरेका थिए ।

‘बजेट बनाउने काम पार्टीका कार्यकर्ता र सचिवालय गरेको भन्ने सुनेको छु यो दुर्भाग्य हो । यता तर्फ सरकारलाई गम्भीर बन्न आग्रह गर्दछु ’ उनले भने ।

उनले कर्मचारीहरूलाई विधि प्रक्रियामा रहेर अगाडी बढ्न पनि आग्रह गरेका थिए । शाहले सरकारले गलत काम गरिरहेको भन्दै तत्काल सच्चिनु पर्ने बताएका थिए ।

‘५४ दिनमा सरकारले पूर्णता पाएको छ । आज मन्त्रालय भन्दा बढि मन्त्री छन् । सुदूरपश्चिमको लागि दुर्भाग्य हो। मन्त्रालय फुटाउने काम गरिँदै छ भन्ने सुन्दै छु ’ उनले भने, ‘सरकारले सरकार जोगाउन यो प्रदेशलाई आर्थिक भार थप्ने कुराको कांग्रेसले विरोध गर्छ । मन्त्रालय टुटाएर फुटाएर राज गर्न कुराको विपक्षमा छौँ हामी ।’

clock मङ्गलबार २९, जेठ २०८१ १४:३७

प्रतिक्रिया