सुदूरपश्चिम मन्त्रिपरिषद् विस्तार, ५ विनाविभागीय सहित ७ मन्त्री थपिए

  सोमबार २८, जेठ २०८१ १८:१९

धनगढी । भागबण्डाको किचलोका बीच सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार ५ जना बिनाविभागीय सहित ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

मुख्यमन्त्री सोडारीका प्रमुख स्वकीय सचिव दीर्घ जोशीकाअनुसार एमालेबाट तीन जना, माओवादी केन्द्रका तीन जना र एक जना एकीकृत समाजवादीका गरी थप सात जना मन्त्री नियुक्त भएका छन् ।

एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला र माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकासमन्त्रीमा नियुक्त गरेका छन् ।

एमालेका बीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी बिक, एकीकृत समाजवादीका माया पन्तलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको छ । 

यससँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित १० सदस्यीय भएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री छन् । 

नवनियुक्त मन्त्रीहरुलाई सुदूरपश्चिका प्रदेश प्रमुख नाजीर मीयाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ  । भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा यसअघि नै मन्त्री भएका हुन् ।

यता माओवादी केन्द्रमा मन्त्री सिफारिसको विषयलाई लिएर किचलो भएको छ । पाँच जना सांसदहरुले संसदीय दलभित्र सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न मुख्यमन्त्री सोडारीलाई ध्यानाकर्षण बुझाएका छ्न् ।


सांसदहरु खगराज भट्ट, झपट साउँद, शिवसिंह ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन् । माओवादीका सभामुखसहित ११ सांसद छन् ।

clock सोमबार २८, जेठ २०८१ १८:१९

प्रतिक्रिया