बरु मेरै मन्त्रालय लानुस तर नफोड्नुस - भौतिक मन्त्री चौधरी

  सोमबार २८, जेठ २०८१ १४:०२

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी मन्त्रालय नफोड्न आग्रह गरेका छन् । सत्ता भागबन्डा मिलाउन मन्त्रालय फोडेर मन्त्री बनाउने चर्चाकाबीच भौतिक मन्त्री चौधरीले मुख्यमन्त्री सोडारीलाई त्यस्तो नगर्न आग्रह गरेका हुन् । 

फोन संवाद गर्दै उनले मन्त्रालय फोड्न पर्ने अवस्था सृजना हुँदा आफ्नो मन्त्रालय पनि राख्न मुख्यमन्त्रीलाई सुझाव दिएका थिए । ‘तपाइहरूलाई मन्त्रालय मिलाउनु छ भने मेरो मन्त्रालय पनि लिनुहोस् ,मन्त्रालय फोडेर आर्थिक भार थप्ने काम नगर्नुहोस्’ मन्त्री चौधरीले मुख्यमन्त्री सोडारीलाई भनेका थिए ।

मुख्यमन्त्री सोडारीले अझै यस विषयमा कुरा नमिलेको बताएका थिए । उनी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री भएका हुन् । उनले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसँग परामर्श गरेर मुख्यमन्त्रीलाई मन्त्रालय नफोड्न र मन्त्रालय फुट्ने अवस्थामा आफू उक्त जिम्मेवारीमा नरहने समेत सङ्केत दिएका थिए । 

भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विभाजन गरेर मन्त्रीहरूको भागबन्डा पुराउने तयारीमा मुख्यमन्त्री सोडारी रहेको स्रोतको दाबी छ ।

यता मन्त्रालय फुटाएर मन्त्री बन्ने अवस्था सृजना भए आफू सरकारमा सहभागी नहुने स्वतन्त्र सांसद डा। तारा जोशीले बताइसकेका छन् ।

clock सोमबार २८, जेठ २०८१ १४:०२

प्रतिक्रिया