सुदूरपश्चिममा मन्त्रालय फुटाएर सरकारले पुर्णता पाउँदै

  सोमबार २८, जेठ २०८१ ०८:५०

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । आज साझ सम्म मुख्यमन्त्री सोडारीले एमाले, माओवादी र स्वतन्त्र एक सांसदलाई मन्त्री बनाउने तयारी गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

सरकारमा सहभागी हुन एमालेले मन्त्रीहरूको नाम टुङ्गो लगाइसकेको छ भने, माओवादीले आज बिहान सम्म टुङ्गो लगाउने जनाएको छ । स्वतन्त्र सांसद पनि उपयुक्ति जिम्मेवारी पाएमा मन्त्री बन्ने लाइनमा छन् ।

एमाले स्रोतका अनुसार सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री बन्ने लाइनमा छन् । पालले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको दाबी छ । अन्य दुई जनाको मन्त्रालय टुङ्गिएको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विभाजन गरेर मन्त्रीहरूको भागबन्डा पुराउने तयारीमा मुख्यमन्त्री सोडारी रहेको स्रोतको दाबी छ ।

एमालेले मन्त्रीको टुङ्गो लगाउँदा माओवादी केन्द्रमा भने अझैसम्म विवाद साम्य भएको छैन । हिजोसम्म माओवादी केन्द्रले दुई मन्त्रालय पाउने र त्यसमा ओम विक्रम भाट सरल र अक्कल रावललाई मन्त्री बनाउने तयारी गरेको थियो ।

तर, आज बसेको संसदीय दलको बैठकमा माओवादीबाट सबैजसो सांसदले मन्त्रीको आकाङ्क्षा गरेपछि मन्त्रीको नाम टुङ्गो लगाउन समस्या भएको बैठकमा सहभागी भएका माओवादीका एक सांसदले भने । ‘खगराज भट्टबाहेक सबैले मन्त्रीको आकाङ्क्षा राखेपछि सहमति भएन’ उनले भने, ‘भोली संसदीय दलको नेताले टुङ्गो लाउनु हुन्छ नभए इन्चार्जले गर्नुहुन्छ ।’

माओवादीबाट रमेश धामी, ओम विक्रम भाट सरल र लक्ष्मी विक मध्ये एक जना मन्त्री बन्ने छन् भने शिव ओली, झपट साउद र अक्कल रावल मध्ये एक जना मन्त्री बन्ने छन् । यता मन्त्री बन्नेहरूले तयारी थालिरहेका बेला उता मन्त्रालय फुटाउने विषय थप पेचिलो बन्ने देखिन्छ । सत्ता गठबन्धनमै रहेको केही सांसदहरूले यस विषयमा असन्तुष्टि जनाएका छन् ।

सरकारले भौतिक पूर्वाधारलाई फुटाएर सहरी ऊर्जा खानेपानी तथा सिचाई मन्त्रालय, सामाजिक विकास फुटाएर शिक्षा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर वन वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग पर्यटन मन्त्रालय बनाउने तयारी थालिएको छ ।

clock सोमबार २८, जेठ २०८१ ०८:५०

प्रतिक्रिया