प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, के भयो कुराकानी ?

  सोमबार २८, जेठ २०८१ ०७:४९

काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

भारतमा तेस्रोपटक प्रधानमन्त्री बनेका मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले भेटमा समकक्षी मोदीलाई बधाई ज्ञापन गरेका छन् । 

आइतबार बेलुका भएको भेटमा नेपाल–भारतबीच रहेको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल र भारतबीचमा विगतमा भएका समझदारी एवं सम्झौताको कार्यान्वयनको विषयमा समेत छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालले मोदीसँगको भेटमा छोरी गंगा दाहाललाई समेत साथै राखेका थिए । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको सपथ ग्रहण समारोहमा समेत सहभागी भएका थिए । 

दाहाल आइतबार मात्रै भारत पुगेका  थिए । टोलीमा दाहालकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी संलग्न छन् । 

प्रधानमन्त्री दाहाल सोमबार साँझ काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।  

clock सोमबार २८, जेठ २०८१ ०७:४९

प्रतिक्रिया