नागरिक उन्मुक्ति आधिकारिक रूपमा विभाजन उन्मुख भएकै हो ?

  आइतबार २७, जेठ २०८१ १५:४०

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रमुख सचेतक खुशीराम चौधरी (भीमसेन) ले शुक्रबार पार्टीकै नेतृ कोमल ज्ञवालीसँगको भेटवार्तापछि सामाजिक सञ्जालमा फोटो सेयर गर्दै लेखे, ‘नागरिक उन्मुक्ति पार्टीको संस्थापक कोमल ज्ञवालीज्यूसँग पार्टीको जीवन र एकताबारे गम्भीरतापूर्वक छलफल ।’ 

नाउपाभित्र ज्ञवाली पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र चौधरी पार्टी संरक्षक रेशमलाल चौधरी पक्षका मानिन्छन् । प्रमुख सचेतक चौधरीले लेखेको ‘पार्टीको जीवन र एकता’ भन्ने वाक्यांशले के नागरिक उन्मुक्ति पार्टी विभाजन उन्मुख भएको हो भन्ने लगायतका सवाल सतहमा ल्याइदिएको छ ।

लामो समयदेखि चल्दै आएको आन्तरिक शक्ति सङ्घर्षले नाउपा विभाजनको सँघारमा पुगेको सुदूरपश्चिम प्रदेश सभामा उसको भूमिकाले पनि स्पष्ट पारेको छ । एमाले, माओवादीसहित दलको सत्ता गठबन्धन बनेपछि नाउपाभित्र किचलो सुरु भएको थियो । पार्टी अध्यक्ष श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाइनमा उभिइन् भने पार्टी संरक्षक चौधरी कांग्रेसलाई समर्थन गर्नुपर्छ भन्ने पक्षमा उभिए । त्यसको समानान्तर प्रभाव सुदूरपश्चिम प्रदेश सरकारमा पार्‍यो ।
हाल रञ्जिता पक्षका कैलाश चौधरी र टीका थापा सुदूरपश्चिम सरकारका विभागीय मन्त्री छन् भने बाँकी ५ जना सांसद प्रदेश सभाको प्रतिपक्षको बेञ्चमा बस्दै आएका छन् ।

नाउपा विभाजन भएकै हो भन्ने जिज्ञासामा पार्टीका नेता पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरी भन्छन्, ‘पार्टी र संसदीय दल फरक कुरा हो । स्वाभाविक रूपमै विद्यालयमा प्रिन्सिपलको नेतृत्व रहन्छ भने घरमा अभिभावकको रहन्छ । जुन कारण प्रदेशमा संसदीय दलको नेतृत्व रहन्छ ।’ लक्ष्मणकिशोर रेशम पक्षका नेता मानिन्छन् । तर रञ्जिता पक्षका नेताहरूको फरक तर्क छ । पार्टीका नेता दामोदर पण्डित भन्छन्, ‘संसारमा नभएको नौटङ्की हाम्रै पार्टीभित्र र सुदूरपश्चिममा छ । एउटै दलका सांसद कोही सत्ता पक्षमा, कोही प्रतिपक्षमा छन् । यस्तो कहीँ हुन्छ दलगत रूपमा ?’

नाउपा आधिकारिक रूपमा विभाजन हुनमात्रै बाँकी हो भन्ने जिज्ञासामा पण्डितले अगाडि थपे, ‘पार्टी चाहिँ फुटेको छैन । फुट्न पनि सक्दैन । कानुन र विधिले दिएको भए फुटिसक्थ्यो । अर्कै अध्यक्ष पनि बनाइसक्थे । चुनाव चिह्न ढकिया पनि चाहियो नि १ त्यो पनि नभएपछि के गर्नु ? ७ जना एकै ठाउँमा भए कति राम्रो हुन्थ्यो । पाएको मुख्यमन्त्री गुमाउनुभएको छ । न सम्झिने, न सम्झाएर हुने । महान् बुझक्कड बन्नु भो साथी ।’

गत पुसमा सम्पन्न नाउपाको महाधिवेशनले सर्वसम्मत रूपमा रेशमलाल चौधरीलाई अध्यक्ष निर्वाचित गरेको थियो । तर निर्वाचन आयोगले रेशमलाललाई अध्यक्षमा स्वीकार नगरेपछि नाउपा पुरानै अवस्थामा फर्केको थियो । यसैक्रममा रेशमलालले निर्वाचन आयोगलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदन सर्वोच्चमा विचाराधीन छ । यसैबिच रेशमलालले सर्वोच्चको फैसला नआउँदासम्म आफू नै पार्टी अध्यक्ष भएको बताउँदै पार्टी विभाजन नभएको दाबी गरेका छन् ।

clock आइतबार २७, जेठ २०८१ १५:४०

प्रतिक्रिया