प्रधानमन्त्री प्रचण्ड आज नयाँ दिल्ली जाँदै

  आइतबार २७, जेठ २०८१ ०७:३२

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ''प्रचण्ड'' भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत जाँदै हुनुहुन्छ । पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ दिउँसो नयाँदिल्ली जाने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डको साथमा उहाँकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत सरकारी कर्मचारी भारत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मोदीले बेलुका शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उहाँबीच भेटवार्ता हुने नयाँदिल्लीमा रहेको नेपाली राजदूतावासले जनाएको छ । मोदीको शपथग्रहण समारोहमा सहभागी हुने प्रचण्डसहितका विशिष्ट पाहुना बेलुका नै भारतका राष्ट्रपति द्रौपदी मुर्मूले दिने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्किनुहुनेछ ।

यसअघि मोदीको पहिलो कार्यकालको शपथ ग्रहणमा स्वर्गीय सुशील कोइराला र दोस्रो कार्यकालको शपथमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुभएको थियो । प्रधानमन्त्री प्रचण्डले गएको जेठमा पनि भारतको औपचारिक भ्रमण गर्नुभएको थियो ।

भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्डसहित, श्रीलंका र माल्दिभ्सका राष्ट्रपति तथा बंगलादेश, भुटान र मौरिससका प्रधानमन्त्री पनि भाग लिन आउने जनाएको छ । गएको मंगलवार सम्पन्न लोकसभा चुनावको मतगणनामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि प्रधानमन्त्रीमा मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको हो ।

७३ वर्षका उहाँको यो ऐतिहासिक तेस्रो कार्यकालको शपथ हुनेछ । लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले एकल बहुमत ल्याउन नसके पनि मोदी एनडीए गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो । एनडीए गठबन्धनसँग लोकसभामा पाँच सय ४३ मध्ये दुई सय ९३ सिट छ । यसमा भाजपाको दुई सय ४० सिट रहेको छ । अघिल्लो दुई चुनाव सन् २०१४ र २०१९ मा भाजपा एक्लैले बहुमत ल्याएको थियो । 

clock आइतबार २७, जेठ २०८१ ०७:३२

प्रतिक्रिया