८४ मा एकल बहुमत ल्याउने गरि तयारीमा लाग्न नेता अधिकारीको निर्देशन

  शनिबार १९, जेठ २०८१ १७:१८

धनगढी । नेकपा एमालेका स्थायी समिति सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउने गरि अगाडी बढ्न एमाले नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । कैलालीको धनगढीमा आयोजना गरिएको सदस्यता नवीकरण तथा अनलाइन अभिलेखीकरण विषयक अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा नेता अधिकारीले तीनै तहको सरकारमा एकल बहुमतको सरकार बनाउने गरि अगाडी बढ्न निर्देशन दिएका हुन् । 

एमाले नेतृत्वको एकल बहुमतको सरकार गठन भएपछि राजनीतिक अस्थिरता अन्त्य हुने उनले विश्वास व्यक्त गरे। उनले अहिले एमाले मुलुककै सबै भन्दा बलियो, लोकप्रिय र सर्वाधिक रुचाइएको पार्टी रहेको जिकिर गरेका थिए । अब पार्टीलाई प्रविधिसँग जोड्नु पर्ने बेला रहेको उनले  बताएका  थिए । नेता अधिकारीले पार्टी शुद्धीकरण र सुदृढीकरण बनाउने उद्देश्य रहेको बताए ।

‘अहिले पार्टी केन्द्रले सदस्यहरूको शुद्धीकरणबाट अगाडि बढाउने लक्ष्य सहित यो अभियान चलाइरहेको छ’ उनले भने , ‘पार्टी सदस्यता शुद्धीकरण अभियानलाई अगाडी बढाउन  पनि यहाँ उपस्थित भएका हौँ । सदस्यहरूको विवरण र अभिलेख अब अनलाइन पद्धतिबाट लैजान्छौँ ।’ अब सदस्यहरूको विवरणलाई डाटा क्लियर गर्नु पर्न पर्ने बताए ।

कार्यक्रममा पोलिट ब्युरो सदस्य तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले एमाले प्रति जनमत बढ्दै गएको भन्दै अझै जनता केन्द्रित कार्यक्रम र गतिविधि बढाउनु पर्ने बताएका थिए ।  अहिले तत्काल सुदूरपश्चिम प्रदेश सरकारमा एमाले सहभागी नहुने भए पनि नीति तथा कार्यक्रम र बजेटका लागि सरकारलाई सुझाव दिइएको बताएका थिए । 

सुदूरपश्चिम प्रदेश सङ्गठन विभागले आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रमको सञ्चालन प्रदेश सङ्गठन विभाग प्रमुख रणबहादुर चन्दले गरेका थिए । कार्यक्रमको अध्यक्षता पार्टी प्रदेश अध्यक्ष  कृष्ण प्रसाद जैशीले गरेका थिए ।

कार्यक्रममा स्थायी कमिटी सदस्य सङ्गठन विभाग प्रमुख अधिकारी सहित पोलिट ब्युरो सदस्य रावल,केन्द्रीय सचिव तथा सङ्गठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य तथा सङ्गठन विभाग केन्द्रीय सदस्य लाल बहादुर थापा प्रदेश उपसचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्ट , उपसचिव नरबहादुर विश्वकर्मा सहित प्रदेश सङ्गठन विभाग पदाधिकारी तथा सदस्य , जिल्ला अध्यक्ष सचिव,सङ्गठन विभाग प्रमुख तथा कार्यालय सचिवहरूको उपस्थिति रहेको छ । कार्यक्रममा स्वागत मन्तव्य प्रदेश उपसचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी बिष्टले गरेकी थिइन् ।

clock शनिबार १९, जेठ २०८१ १७:१८

प्रतिक्रिया