सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले त्यसदिन बिहान सवा १० बजेका लागि बैठक आह्वान गरेको छ ।
मुख्य समर्थक दल एमाले प्रदेश संसदीय दलले विश्वासको मत दिने नदिनेमा अझै मुख खोलेको छैन । संसदीय दलका नेता राजेन्द्रसिंह रावलले आफूहरूसँग मुख्यमन्त्रीले कुनै छलफल नगरेको बताए ।
उनले पार्टी केन्द्रबाट आउने निर्देशनअनुसार गर्ने बताएका छन् । "अहिलेसम्म कुनै निर्देशन आएको छैन," उनले भने ।
एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका सोडीरीले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए ।
एमाले विश्वासको मत दिन तयार नभएपछि बैठक स्थगित भएको थियो । जेठ ४ गते विश्वासको मत लिने अन्तिम दिन हो ।
प्रतिक्रिया