काठमाण्डौंमा बस्यो माओवादी सुदूरपश्चिम संसदीय दलको बैठक

  आइतबार ३०, बैशाख २०८१ १७:१७

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक काठमाडौँमा बसेको छ।

संसदीय दलका नेता मानबहादुर धामीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल, सह–इन्चार्ज विना मगर र प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव सहभागी थिए।

सुदूरपश्चिम प्रदेश सरकार र संसदीय दलभित्रका विषयमा बैठकमा छलफल भएको संसदीय दलका नेता मनबहादुर धामीले बताए।

अहिलेसम्म पनि सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको छैन। उनका अनुसार पहिले विश्वासको मत दिने र सरकारलाई पूर्णता दिने विषयमा बैठकमा छलफल भएको हो।

बैठकमा धामीसहित सुदूरपश्चिम प्रदेशका आठ सांसद उपस्थित थिए। खगराज भट्ट र जानकीदेवी कुँवरबाहेक सबै सांसदहरू उपस्थित थिए।

यसअघि खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई माओवादी संसदीय दलको नेता बनाएको भन्दै विरोध जनाएका दुई सांसदहरू पनि बैठकमा उपस्थित हुँदा माओवादी एकताबद्ध रहेको सन्देश गएको माओवादी नेताहरूले दाबी गरेका छन्।

clock आइतबार ३०, बैशाख २०८१ १७:१७

प्रतिक्रिया