सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

  शनिबार २२, बैशाख २०८१ १३:३७

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको तत्काल विश्वासको मत लिने तयारीमा ब्रेक लागेको छ ।

हिजो विश्वासको मत लिने गरि मुख्यमन्त्री सोडारीले तयारी गरेका थिए। तर, एमाले सहमत नहुँदा कार्य व्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेन । अन्तिममा हिजोको प्रदेश सभा बैठक आज ५ः३० बजे सम्मको लागि स्थगित गरिएको थियो ।

शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले बताए ।

‘हामीले विश्वासको मत नदिने भनेकै छैनौँ अहिले किन हतार गर्नु पर्‍यो ’ उनले भने, ‘हिजो पनि हामीसँग सल्लाह नगर्ने आजको लागि पनि सल्लाह नगर्ने यसरी हुन्छ ।’

बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको थियो । अहिले एमालेले मत नदिने भएपछि आज मुख्यमन्त्री सोडारीले विश्वासको मत नलिने जनाए।

विश्वासको मतकै लागि आज आह्वान गरिएको प्रदेश सभा बैठक पनि अनिश्चितकाललाई स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

अब थप छलफल र परामर्श गरेर विश्वासको मतको लागि अर्को मिति निर्धारण गरिने नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले बताए ।

clock शनिबार २२, बैशाख २०८१ १३:३७

प्रतिक्रिया