कञ्चनपुरका दुई निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारको नाम सिफारिस

  आइतबार २८, मङि्सर २०८२ ०७:२०

कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

कांग्रेसले कञ्चनपुर क्षेत्र १ बाट दुई नेतालाई उम्मेदवारका लागि सिफारिस  गरेको छ । चार जना आकाङ्क्षी देखिएपछि क्षेत्र नम्बर १ मा निर्वाचन गरिएको थियो । क्षेत्रीय सभापतिसमेत रहेका गोपालीप्रसाद उपाध्याय ५२ र पुराना नेता भरत विष्ट ५८ मत पाएर सिफारिस भएको क्षेत्रीय सभापतिसमेत रहेका गोपीप्रसाद उपाध्यायले बताए ।

यसैगरी क्षेत्र नम्बर १ बाट समानुपातिक र राष्ट्रिय सभातर्फ भने सर्वसम्मत नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सगुना राना, खिना भण्डारी, राष्ट्रिय सभातर्फ युवा नेता हरेन्द्र विष्ट (होसियार) र प्रकाश पन्तसमेत सर्वसम्मत छनोटभएका छन् । क्षेत्रीय सभापति उपाध्यायले पार्टी केन्द्रको निर्णयअनुसार उम्मेदवार सिफारिस गरेर माथिल्लो समितिमा पठाइएको बताए ।

यसैगरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ पूर्वमन्त्री एनपी साउँद, हरि बोहरा र दल बहादुर बोहरा सिफारिस भएका छन् । कांग्रेस केन्द्रीय सदस्य साउँद २०७९ को आम निर्वाचनमा क्षेत्र नं। २ बाट निर्वाचित भएका थिए।

यसैगरी, समानुपातिकमा गणेश नेपाली र तौला राना सिफारिस भएका छन् । राष्ट्रिय सभामा पुस्करराज ओझा, देबराज पाठक र इश्वरी खाती सिफारिस भएका छन् ।

यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट भने १९ जना आकाङ्क्षी देखिएकाले अन्तिम टुङ्गो लाग्न भने बाँकी रहेको जनाइएको छ । जसका लागि शनिबार थप छलफल भइरहेको कांग्रेस कञ्चनपुर क्षेत्र नं। ३ का क्षेत्रीय सभापति केशव चन्दले बताए ।

उहाँका अनुसार, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री रमेश लेखक, प्रेमबहादुर विष्ट र शंकरबहादुर चन्द आकाङ्क्षी देखिएका छन् ।  

यसैगरी, प्रतिनिधि सभा समानुपातिकमा माया भट्ट, कल्पना केसी र हरि ठाकुर आकाङ्क्षी छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भने १३ जना आकाङ्क्षी देखिएको क्षेत्र नं। ३ का क्षेत्रीय सभापति चन्दले बताए । शनिबार साझँसम्म निक्र्योल लगाएर उम्मेदवारहरु सिफासिर गरिने जिल्ला कार्यसमितिले जनाएको छ । सरकारको निर्णय अनुसार प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन माघ ११ गते निर्धारण गरिएको छ ।

clock आइतबार २८, मङि्सर २०८२ ०७:२०

प्रतिक्रिया