कञ्चनपुरमा आज जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट हुँदै

  शनिबार १९, फागुन २०८० ०९:२७

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनका लागि आज शनिबार सबै वडामा प्रतिनिधि छनोट हुँदैछन् ।

जिल्ला कमिटी बैठकले तय गरेको मापदण्डअनुसार ९२ वटै वडाबाट खुला, महिला, युवा र आदिवासी जनजाति तथा पालिकास्तरबाट दलित प्रतिनिधि छनोट गरिने जिल्ला सचिव तथा प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक पल्लबराज भट्टले जानकारी दिए । 

शनिबार भूगोलबाट प्रतिनिधि छनोट भएपछि जनसंगठनबाट प्रतिनिधि छनोट गरिने छन् । जिल्ला अधिवेशनमा झण्डै ५०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ।

अधिवेशनबाट जिल्ला पार्टीको नयाँ नेतृत्व चयन हुनेछ । नेकपा एमाले कञ्चनपुरले चैत १ र २ गते महेन्द्रनगरमा जिल्ला अधिवेशन गर्दैछ ।

अधिवेशनको उद्घाटनका लागि पार्टी केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आउने कार्यबाहक अध्यक्ष लक्ष्मी बुढाले जानकारी दिइन् ।

उनका अनुसार अधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमितिले काम गरिरहेका छन् ।

clock शनिबार १९, फागुन २०८० ०९:२७

प्रतिक्रिया