खगराजलाई मुख्यमन्त्री बनाउन प्रचण्डले गरेको प्रस्तावमा  ‘मतभेद’

  मङ्गलबार १५, फागुन २०८० १७:०३

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश सांसद खगराज भट्टलाई मुख्यमन्त्री बनाउने गरी नेतृत्व परिवर्तन गर्ने भनेर गरेको प्रस्तावप्रति माओवादीमा ‘मतभेद’ देखिएको छ।

आज (मंगलबार) को बैठकमा प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरूबिच मतभेद देखिएपछि अर्को दिन निर्णय गर्ने भन्दै बैठक नै स्थगित हुन पुगेको हो।

बैठकमा अध्यक्ष प्रचण्डले भट्टलाई आगामी दिनमा मुख्यमन्त्रीसमेत बनाउने गरी कांग्रेससँग छलफल गर्ने भनेर प्रस्ताव गरेका थिए।

तर, प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरू चक्रपाणि खनाल, जनार्दन शर्मा र देवेन्द्र पौडेल लगायतले असहमति जनाए। खनाल, शर्मा र पौडेलले गलत ढंगले नेतृत्व परिवर्तन गर्न जायज नहुने धारणा राखेका थिए।

‘सुदुरपश्चिममा यसअघि भर्खर नेतृत्व परिवर्तन भएको छ। फेरि तत्काल अर्को नेतृत्व ल्याउँदा गलत हुन्छ। यो प्रक्रिया सङ्गत पनि हुँदैन र अहिले नेतृत्व लिएका नेताको अपमान हुन्छ,’ असहमति जनाउने नेताहरूले बैठकमा भनेका थिए।

अध्यक्ष प्रचण्डले भट्टको प्रस्ताव गरेपछि उनी भने बैठकबाट बाहिरिएका थिए।

गत माघ १२ गते नेकपा माओवादी केन्द्रले खगराज भट्टलाई दलको नेताबाट हटाएर सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता परिवर्तन गरेको थियो।

माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मानबहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको थियो।

clock मङ्गलबार १५, फागुन २०८० १७:०३

प्रतिक्रिया