कैलाली एमालेका निर्वाचित पदाधिकारी र सदस्यले गरे शपथ ग्रहण

  सोमबार १४, फागुन २०८० १८:१८

धनगढी । नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रम जिल्ला कमिटीको अध्यक्षमा निर्वाचित यज्ञराज ढुङ्गानासहितका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन् ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । शपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले पदभार समेत ग्रहण गरे।

पदभार ग्रहण गर्दै ढुङ्गानाले एमालेभित्र नेतृत्व पङ्क्तिमा बस्ने नेताहरूले गुटबन्दी मौलाएको बताउँदै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

अधिवेशनमा जुनसुकै समूहबाट निर्वाचित भएर आएपनि सबैलाई मिलाएर अघि लैजाने पक्षमा रहेको उनको भनाई थियो ।

घोडाघोडी नगरपालिकाको सुखडमा ६ फागुनमा सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट प्रतिद्धन्द्धी डेजी पाण्डेलाई ६९ मतले पराजीत गर्दै ढुंगाना अध्यक्षमा विजयी भएका थिए ।

clock सोमबार १४, फागुन २०८० १८:१८

प्रतिक्रिया