डोटीमा एमाले जिल्ला अधिवेशनको तयारी, को-को छन् अध्यक्षका आकांक्षी

  आइतबार ०६, फागुन २०८० ०७:१४

डोटी। डोटीमा आगामी चैत २ र ३ गते हुने नेकपा एमालेको नवौं जिल्ला अधिवेशनको तयारी अघि बढेको छ । डोटीमा हुने नेकपा एमालेको अधिवेशनस्थलका रूपमा राजपुरलाई तोकिएको एमाले डोटीले जनाएको छ ।

एमाले जिल्ला कमिटी सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख झलक पालीले नवौं अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्ष चक्र मल्लको नेतृत्वमा अधिवेशन मूल आयोजक कमिटी गठन गरिएको बताए । यस्तै प्रचारप्रसार, आर्थिक, यातायात, मञ्च व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, सांस्कृतिक, अतिथि सत्कार, स्वयंसेवक परिचालनलगायतका विभिन्न उपसमिति बनाएर जिम्मेवारी बाँडफाँट गरिएको उनको भनाइ छ ।एमाले विधानअनुसार जिल्ला कमिटी पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पद छन्।

अधिवेशनमा करिब ४०० प्रतिनिधिले भाग लिने जिल्ला सचिव शेरबहादुर मल्लले जानकारी दिए । उनका अनुसार खुलातर्फ ३० संगठित सदस्य बराबर एक र समावेशीतर्फ २० संगठित सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने गरी मापदण्ड बनेको छ । तीन जनासम्म प्रतिनिधिमा कम्तीमा एक र पाँच जनासम्ममा कम्तीमा दुई जना महिला प्रतिनिधि हुनुपर्ने मल्लले बताए ।

उनका अनुसार प्रत्येक जनसंगठनबाट तीन जना प्रतिनिधि आउनेछन् । ‘जिल्ला कमिटीलाई बुझाउनुपर्ने दायित्व र लेवी नबुझाएका व्यक्ति प्रतिनिधि हुन नपाउने सचिव मल्लले बताए । खुलातर्फका प्रतिनिधिहरुले एक हजार र समावेशीतर्फका प्रतिनिधिले पाँच सय रुपैयाँ प्रतिनिधि शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । अधिवेशनको तयारीसँगै नेतृत्वमा पनि चर्चा हुन थालेको छ । हालसम्म अध्यक्षमा पाँच जनाको नाम चर्चामा आएको छ ।

अध्यक्षका आकांक्षी बढ्न सक्ने बताइएको छ । हालसम्म वर्तमान जिल्ला उपाध्यक्ष मञ्जु मलासी, पूर्वअध्यक्ष नारद मलासी, जिल्ला सचिव शेरबहादुर मल्ल, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पदमराज भट्ट र जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मण मलासीको नाम चर्चामा छ ।

दिपायल सिलगढी नगरपालिकाका पूर्वमेयर मञ्जु आफूले पार्टीको उपाध्यक्ष भई काम गरिसकेको हुँदा अध्यक्षमा आफ्नो स्वाभाविक दाबी रहेको बताइन् । उनले जिल्ला अध्यक्षका लागि आफू एक्लो महिला उम्मेदवार भएको बताइन् । सुदूरपश्चिम प्रदेश कमिटीका निवर्तमान सदस्य नारद मलासी आफूले एक पटक सफल रुपमा पार्टीको नेतृत्व गरेको र सो अनुभवले पार्टीलाई थप उचाइमा लैजान सहयोग पुग्ने दाबी गरे । अध्यक्षका लागी शेरबहादुर पार्टीको नेतृत्व युवाको हातमा आउनुपर्ने मागसहित उम्मेदवारको आकँक्षी रहेको बताए ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पदमराज पनि आफ्नो दाबीलाई स्वाभाविक बताउँछन् । भारत प्रवासमा हुँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका भन्दै उनले भट्ट पार्टीमा जिल्लाको नेतृत्व गरेर संगठन परिचालन गर्ने इच्छा रहेको बताए । अर्का दावेदार लक्ष्मण मलासीले नेकपा विभाजनपछि बनेको समानान्तर कमिटीमा सचिव पदको जिम्मेवारी सम्हालेका थिए । उनी २०७९ साल बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट दिपायल सिलगढी नगरपालिका मेयर उम्मेदवार थिए ।

clock आइतबार ०६, फागुन २०८० ०७:१४

प्रतिक्रिया