एमाले बझाङको अधिवेशन अनिश्चितकालका लागि फेरि सर्‍यो

  शुक्रबार ०४, फागुन २०८० ०७:००

बझाङ । एमाले बझाङको अधिवेशन फेरि सरेको छ । अर्को सूचना नभएसम्मका लागि भन्दै अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको हो । यसअघि गत माघ १९ र २० गतेका लागि तय भएको अधिवेशन मौसमको कारण देखाउँदै स्थगित गरिएको थियो ।

अधिवेशनस्थल झोतामा उद्घाटनका लागि मञ्च निर्माणको काम समेत भइसकेको अवस्थामा माघ १८ गते प्रतिकुल मौसमलाई कारण देखाउँदै एक्कासी अधिवेशन स्थगित भएको सूचना प्रकाशित गरिएको थियो । त्यसबेला अधिवेशनमा सहभागी हुन जिल्लाका विभिन्न पालिकाबाट प्रतिनिधि अधिवेशनस्थल पुगिसकेका थिए । मौसम प्रतिकुल हुने भनिए पनि माघ १९ र २० गते भने मौसम सफा थियो ।

त्यसपछि माघ २० गते अर्को सूचना जारी गरेर फागुन २ र ३ गते अधिवेशन झोतामै आयोजना गर्ने जानकारी दिइएको थियो । फागुन २ को अधिवेशन स्थगित गरिएको बारे कुनै आधिकारिक जानकारी सार्वजनिक भने गरिएन । जिल्लाका केही नेताले सामाजिक सञ्जालमार्फत प्राविधिक कारणले अर्को सूचना नभएसम्मका लागि अधिवेशन स्थगित भएको जानकारी गराएका छन् ।

‘जिल्लामा सदस्यता नवीकरण भैसकेका केही साथीहरुको नाम केन्द्रको लिस्टमा नदेखिए पछि अधिवेशन स्थगित भएको हो,’ एमाले बझाङका सचिव आनन्दलाल विकले भने, ‘त्यही लिस्ट ल्याएर काठमाडौं आएका छौ । केन्द्रले स्विकृत गर्ने बितिकै अधिवेशन हुन्छ ।’

एमाले स्रोतका अनुसार जिल्ला अधिवेशनको लागि छनौट भएका चार सय ४० जना प्रतिनिधि मध्ये ९८ जना नक्कली प्रतिनिधि देखिए पछि अधिवेशन स्थगित भएको हो । सदस्यता नवीकरण नभएकाको नाम प्रतिनिधिमा देखिएपछि अधिवेशन स्थगित भएको एक जिल्ला कमिटि सदस्यले बताए । ‘सदस्यनै नभएकालाई प्रतिनिधि बनाएका कारण अधिवेशन स्थगित भएको हो,’ उनले भने ।

नक्कली प्रतिनिधि बनाएका कारण २०७७ मा हुनुपर्ने एमाले अधिवेशन अहिलेसम्म पनि हुन सकेको छैन । २०७८ असारमा हुने भनिएको आठौं जिल्ला अधिवेशन पनि सदस्यता विवादका कारण स्थगित भएको थियो । पार्टीभित्र गुटगत राजनीति पेचिलो बन्दै गएको र त्यहीँ कारण आफ्ना पक्षका प्रतिनिधि बढाउन नक्कली नामहरु सिफारिस गर्ने काम भैरहेको एमाले निकटहरु बताउँछन् ।

नेताहरुको स्वार्थका कारण पटक–पटक हठत अधिवेशन स्थगित गरेर टाढा–टाढा प्रतिनिधिलाई दुःख दिने काम भैरहेको भन्दै केही प्रतिनिधिले अधिवेशन स्थगित गर्ने निर्णयको विरोध समेत गरिरहेका छन् ।

clock शुक्रबार ०४, फागुन २०८० ०७:००

प्रतिक्रिया