एमाले कैलालीमा पदाधिकारीका आकांक्षीले आज इच्छापत्र पेश गर्नुपर्ने

  बिहिबार ०३, फागुन २०८० ०९:०७

धनगढी । नेकपा एमाले कैलालीको अधिवेशनका लागि बिहीबार (आज) पदाधिकारीमा आकांक्षा राख्नेलाई इच्छापत्र पेश गर्ने समय दिइएको छ । फागुन ६ र ७ गते घोडाघोडी नगरपालिकाको सुखडमा आयोजना हुने नवौँ जिल्ला अधिवेशनमा अध्यक्षसहितका पदाधिकारीमा आकांक्षीलाई इच्छापत्र पेश गर्ने समय दिइएको हो ।

एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले सहमतीमै नेतृत्व चयन गर्न सहमतिको प्रयासका लागि अधिवेशन अगावै आकांक्षीबाट इच्छापत्र पेश गर्ने समय दिइएको बताए ।

‘पदाधिकारीमा आकांक्षा राख्ने, उम्मेदवारी दिने चाहाना भएकाहरुले आज साँझसम्म पार्टी कार्यालयमा जिल्ला इन्चार्जलाई सम्बोधन गरेर इच्छापत्र पेश गर्ने समय दिइएको छ,’ ठगुन्नाले भने, ‘भोलि र पर्सी आकांक्षीहरुबीच सहमतिको प्रयसा गरिनेछ ।’

एमालेले अधिवेशनमा हुने अनावश्यक खर्च र नलम्बियोस् भन्ने उद्देश्यले कैलालीमा अधिवेशन उद्घाटन पूर्व नै पदाधिकारीमा इच्छापत्र माग गरिएको जनाएको छ । नवौँ जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

अहिलेसम्म एमाले जिल्ला अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, पूर्व प्रदेश सचिवालय सदस्य यज्ञ ढुंगाना र जिल्लाका सचिव डेजी पाण्डे आकांक्षी देखिएका छन् । तर बिहीबार इच्छापत्र पेश गर्ने समय भएका कारण के–कति जनाले अध्यक्षमा दाबी गर्छन् भन्ने कुरा त्यसपछि मात्र थाहा हुने नेताहरु बताउँछन् ।

clock बिहिबार ०३, फागुन २०८० ०९:०७

प्रतिक्रिया