भारतमा पटाका कारखानामा विस्फोट : मृतकको संख्या ११ पुग्यो, ७७ जना घाइते

  बुधबार २४, माघ २०८० ०७:००

एजेन्सी । भारतमा एक पटाका कारखानामा भएको भीषण विस्फोटमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । विस्फोटमा परी अन्य ७७ जना घाइते भएका छन् । 

भारतीय टेलिभिजनको फुटेजमा पटाका कारखानामा विस्फोटपछि आगोको ज्वाला उठेको देखिएको छ । घाइतेलाई निकाल्नका लागि दर्जनौँ एम्बुलेन्स पठाइएको छ भने सेनाको हेलिकोप्टरलाई समेत बोलाइएको छ । 

वरिष्ठ जिल्ला प्रहरी अधिकारी राजेश्वरी महोबियाले मध्य प्रदेश राज्यको हरदामा कारखानामा भएको विस्फोटमा अहिलेसम्म ११ जनाको मृत्यु र करिब ७७ जना घाइते भएको जानकारी दिए । उनले मृतकको सङ्ख्या बढ्नसक्ने बताए । कारखाना स्थलका तस्बिरहरूले कालो धुवाँसहितको भग्नावशेष देखाएका छन् । 

मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले विस्फोटको खबर ‘अत्यन्त दुःखद’ भएको र नजिकैका अस्पतालहरूका बर्न युनिटका चिकित्सकहरूलाई ‘आवश्यक तयारी’ गर्न बोलाइएको बताए ।  

उनका अनुसार घटनास्थलमा कम्तीमा २० एम्बुलेन्स रहेको र घाइतेलाई सहयोग गर्नका लागि थप ५० एम्बुलेन्स पठाइएको छ । हरदा जिल्ला अस्पतालका सर्जन मनीष शर्माले केन्द्रमा ठूलो सङ्ख्यामा मानिस हताहत भएको बताए ।

मृतकहरूमा आगलागीबाट बच्ने क्रममा हडबडाहटले भाग्दा कुल्चिएर मर्नेहरू पनि रहेको एक प्रहरीले टाइम्स अफ इन्डियालाई बताएका छन् । भारतमा पटाका कारखानामा प्रायः विस्फोट भइरहन्छन् । विशेषरूपमा हिन्दूहरूको पर्व दीपावलीको समय र विवाह समारोहमा प्रयोग गर्न भारतमा पटाका अत्यन्त लोकप्रिय छ ।


यद्यपि धेरै कारखाना आधारभूत सुरक्षा आवश्यकताहरू पालना गर्न र अनुमतिसहित सञ्चालन गर्न असफल छन् । सन् २०१९ मा पञ्जाब राज्यको बटालामा एक पटाका कारखानामा भएको विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । सोही वर्ष उत्तर प्रदेशको भदोहीमा अन्य १० जना मारिएका थिए ।  

clock बुधबार २४, माघ २०८० ०७:००

प्रतिक्रिया