रवि लामिछानेको दाबी – ठूला दलका नेताहरूले राजनीतिक भागबन्डा गरेर देश डुबाए

  शनिबार २०, माघ २०८० १६:५८

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला दलका नेताहरूले राजनीतिक भागबन्डा गरेर देश डुबाएको आरोप लगाएका छन् ।​

शनिवार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नेताहरूले राजनीतिक भागबन्डाका आधारमा आफन्तहरूको पक्षपोषण गरिरहेका छन् । यस्तै गरेर उनीहरूले देश डुबाए’, उनले भने, ‘ठूला दलका कुनै नेताले देश बनाउँछन् भन्ने कुनै विश्वास छैन । विश्वास गर्न नसकिने कुनै आधार पनि छैन ।’

२०८४ मा जनताले बहुमत दिए एकैसाथ बेथितिको अन्त्य गर्ने उनको दाबी छ । त्यसका लागि आफूले देशमा विकास र समृद्धि ल्याउन कठोर यात्रा तय गरेको उनले बताए । ‘पार्टी स्थापना भएको छोटो समयमै संसदमा २१ जनाले प्रतिनिधित्व गरेका छौं’, सभापति लामिछानेले भने, ‘त्यो संख्याले मात्र हुँदैन । परिवर्तन गर्नका लागि बहुमत चाहिन्छ । जिल्ला–जिल्लाबाट सक्षम नेतृत्व आउनुपर्छ । सक्षम नेतृत्व अर्घाखाँचीले नै जन्माएको छ, कसैको आशीर्वादले हुँदैन ।’

वर्तमान सरकारले शुरूशुरूमा काम गरेजस्तो गर्ने तर काण्डको टुंगो नलाग्दै कसैको दबाबमा ढाकछोप गर्ने गरेको उनले आरोप लगाए ।

ठूला भनिएका दलहरूले मदन भण्डारी र वीपी कोइरालाको नाम बेच्ने गरेको भन्दै उनले आफूहरूसँग मात्रै सुशासनको एजेण्डा भएको बताए । उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे ।

त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले गरिबी, अशिक्षा र कुशासनमा देश फस्न थालेको र यसले आउँदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको बताइन् । सरकारको नेतृत्व गरेका दलहरूबाट नै भ्रष्टाचार र बेथिति बढेकाले यसको अन्त्य गर्न नयाँ शक्तिको उदय भएको उनले बताइन् ।

clock शनिबार २०, माघ २०८० १६:५८

प्रतिक्रिया