आर्मीलाई हराउँदै पुलिस पीएम कप च्याम्पियन

  शनिबार २०, माघ २०८० १६:४४

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ।

कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो।

आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो। पुलिसका लागि शंकर रानाले विस्फोटक ब्याटिङ गर्दै ४३ बलमा सर्वाधिक ६२ रनको योगदान दिए।

उनले ५ चौका र ४ छक्का हिर्काए । त्यस्तै अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन बनाए।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४९।५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो। आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ७ चौका र १ छक्का हिर्काए।

७ विकेटका ६९ रनको खराब स्थितिमा रहेको बेला यादवले सोमपाल कामीसँग आर्मीको इनिङ्स सम्हालेका थिए। सोमपालले ३९ रन बनाए।

आर्मीका लागि ओपनर इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

नेपाल पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए। त्यस्तै, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए।

clock शनिबार २०, माघ २०८० १६:४४

प्रतिक्रिया