धनगढीका मेयर गोपाल हमालको घरमा कालो ब्यानर टाँसियो

  बुधबार १०, माघ २०८० १४:११

धनगढी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसिएको छ। आज बुधबार मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कैलालीले नगर प्रमुख हमालको घरमा कालो ब्यानर र झन्डा टाँसेको हो।

सोमबार कैलालीको धनगढीमा क्रान्तिकारी युवा सङ्गठनले आयोजना गरिएको पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले यस्तो चेतावनी दिएका थिए । कैलाली संयोजक अनमोलले जारी गरेको प्रेस विज्ञप्ति वाचन गर्दै उनले आफूहरू सङ्घर्षमा उत्रिन बाध्य भएको बताए।उक्त विज्ञप्तिमा मेयरको घरमा कालो ब्यानर टाँस्ने देखी कार्यालय समय र सम्बन्धित व्यक्तबाहेक सवारी साधन चलाएको पाइएमा कालो मोसो दल्ने सम्मको चेतावनी उल्लेख गरेका बताएका थिए ।

उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको उपाध्यायले जानकारी गराए ।‘धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे माग पत्र १५ दिने अल्टिमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरू सम्बन्धमा कुनै सुनुवाइ नभएकोले समस्याहरूको समाधानका लागि केही भएनन्’ उनले भने ।

विज्ञप्तिमा माघ १० गते वडा कार्यालयहरूमा माग पत्र बुझाउने, नगरप्रमुखको घरमा कालो ब्यानर टाँस्ने, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली, मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा माग पत्र बुझाउने, १० गते देखी कार्यालय समय र सम्बन्धित व्यक्तबाहेक सवारी साधन चलाएको पाइएमा कालो मोसो दल्ने चेतावनी दिइएको छ ।माघ १२ गते कार्यपालिका शाखाहरूमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरूमा माग पत्र बुझाउने कार्यक्रम रहेको छ ।


२० गते सम्म वाल पेन्टिङ गर्ने, सरकारी शैक्षिक संस्थाले १ देखी १२ सम्मको सुल्क फिर्ता गर्नु पर्ने, निजी स्वास्थ्य संस्थाहरूले राज्यले तोकेको भन्दा बढी सेवा सुल्क हटाउनु पर्ने, वडा नम्बर ११ मा रहेको बहिरा विद्यालयमा तत्काल उचित गाँस बाँस र कपासको लागि २० लाख उपमहानगरपालिकाले व्यवस्था गर्नु पर्ने माग राखिएको छ। क्रान्तिकारी युवा सङ्गठन सुदूरपश्चिम प्रदेश कमिटीका संयोजक दीपेन्द्र ऐरी र इन्चार्ज भुवन रम्तेलले पनि एक विज्ञप्ति जारी गरेका थिए । प्रधानमन्त्रीलाई २० बुँदे माग पत्र पेस गरेको भन्दै प्रदेशमा माग सम्बोधनका लागि सङ्घर्षका कार्यक्रम घोषणा गरिएको जनाइएको छ।

clock बुधबार १०, माघ २०८० १४:११

प्रतिक्रिया