भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना संक्रमण

  आइतबार १५, पुष २०८० ०७:०५

कञ्चनपुर । भारतका विभिन्न क्षेत्रबाट घर फर्किने नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ । पछिल्लो १० दिनमा भारतबाट घर फर्किने ९ जनामा संक्रमण देखिएको हो । भारतमा नयाँ भेरिएण्ट जेएन वान देखिन थालेपछि गौरीफण्टा नाकामा परीक्षण तीव्र पारिएको छ ।

गौरीफण्टास्थित हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार पुस ३ देखि १३ सम्म ३ सय जनाको एण्टीजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । उनका अनुसार भारतको दिल्ली, चन्डीगढ, बेंगलोर र हैदरावाद लगायतका क्षेत्रबाट आउनेमा संक्रमण देखिएको हो ।

‘संक्रमण देखिएकालाई होम आइसोलेसनमा बस्ने गरी घर पठाएका छौं,’ साउदले भने, ‘सेनेटाइजर र मास्कको प्रयोग गरी सार्वजनिक यातायातमै घरतर्फ पठाइयो ।’ उनका अनुसार अहिले लक्षण देखिएका र शंकास्पद व्यक्तिको मात्रै परीक्षण भइरहेको छ ।

भारतका विभिन्न राज्यमा नयाँ भेरिएण्टको संक्रमण बढिरहेको छ । संक्रमण पुष्टि भएकाहरूको नमुना परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको साउदले बताए । नयाँ भेरिएण्ट जेएन वान हो वा होइन भन्ने पहिचान गर्न प्रयोगशालामा नमुना पठाइएको उनले बताए ।

कञ्चनपुरको गड्डाचौकी नाकामा पनि हेल्थ डेस्कले शंकास्पद व्यक्तिलाई नियमित रूपमा परीक्षण गर्दै आएको छ । भारतमा संक्रमण बढ्न थालेपछि पुस ७ देखि यहाँ पनि परीक्षण सुरु गरिएको हेल्थ डेस्कका प्रमुख प्रेमसिंह भण्डारीले बताए । गड्डाचौकीमा भने हालसम्म संक्रमण देखिएको छैन ।

भण्डारीका अनुसार अहिले दैनिक अढाइ सय जना नेपालतर्फ भित्रिरहेका छन् । जसमध्ये ३०र४० जनाको मात्रै परीक्षण भइरहेको छ । भारतको दिल्ली र देहरादुनसम्म चल्नै मैत्री बसहरूले नाकामा रोक्न अटेर गर्दा परीक्षणमा समस्या भएको उनले बताए ।

‘संक्रमण देखिन सक्थ्यो, तर हामीले परीक्षण गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘भारतका विभिन्न सहरबाट आउने बसहरू यहाँ रोक्दैनन् ।’ उनका अनुसार नाकामा परीक्षणका लागि बसहरू रोक्न स्थानीय प्रशासन र सुरक्षा निकायसँग आग्रह गरिएको छ । नाकामा परीक्षण नहुँदा र संक्रमण देखिएकालाई पनि सार्वजनिक यातायातमै घरतर्फ पठाउँदा समुदायमै संक्रमण फैलिन सक्ने जोखिम रहेको छ । स्वास्थ्यकर्मीहरू समेत नाकामा परीक्षणमा कडाइ हुनुपर्ने बताउँछन् ।

clock आइतबार १५, पुष २०८० ०७:०५

प्रतिक्रिया