बैतडीमा सङ्घीय मातहतका स्वास्थ्यकर्मीले पाएनन् तलब

  शनिबार १४, पुष २०८० ०७:०२

बैतडी । एउटै जिल्लामा काम गर्ने स्वास्थ्य संस्थालाई सङ्घ, प्रदेश र स्थानीय तहमा विभाजन गर्दा कतै बजेट फालाफाल हुन थालेको छ भने कतै तलब खान नपाएर स्वास्थ्यकर्मीको बेहाल भएको छ । 

सङ्घीय सरकार मातहत रहेको झुलाघाट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई तलब खुवाउने बजेट नहुँदा मासिक ३२ हजार तलब खाँदै आएका स्वास्थ्यकर्मीको आधा तलब घटाएर मासिक १६ हजारमा झारिएको छ । घटाएको आधा तलबसमेत चार महिनासम्म आएको छैन ।  

झुलाघाट सीमानाकाको स्वास्थ्य चौकीमा विभिन्न सरुवा रोग कोभिड, मलेरिया, एचआइभी जस्ता रोगको परीक्षण हुँदै आएको छ । ल्याब टेक्निसियन राजेन्द्र लोहारले जोखिमपूर्ण काम गर्दै आएका स्वास्थ्यकर्मीले चार महिनासम्म तलब नपाउँदा समस्या भएको पीडा सुनाउनुभयो । 

अन्तर्राष्ट्रिय सीमानाकाको स्वास्थ्य चौकी भएकाले सङ्घीय सरकार मातहत रहने गरी यहाँका स्वास्थ्यकर्मीको सेवासुविधा क्षेत्रीय स्वास्थ्य निर्देशनालय मातहत रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । स्वास्थ्य कार्यालयमा गुनासो पोखे पनि केही गर्न सक्ने स्वास्थ्य प्रमुख भट्टले बताउनुभयो । 

भारतमा पुनः कोरोनाको सङ्क्रमण देखिएकाले झुलाघाट स्वास्थ्य चौकीमा अन्य सरुवा रोगसँगै कोरोना परीक्षण सुरु गर्ने जिल्लामा निर्णय भए पनि स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरिरहेको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिनुभयो । तलब नआउँदा उधारोमा भात खाएर जोखिम मोलेर काम गर्दै आएको स्वास्थ्यकर्मीले पीडा सुनाउने गरेका छन् । 

यसअघि मासिक ३२ हजार रुपियाँ र जोखिम भत्तासमेत पाउँदै आएका स्वास्थ्यकर्मीलाई हाल बजेट नभएको भन्दै आधा तलब घटाइएको छ । खाइपाई आएको तलबबाट आधा घटाएर नियुक्ति दिए पनि यहाँका स्वास्थ्यकर्मीले घटेको तलबसमेत पाउन सकेका छैनन् । दसैँ तिहारमासमेत तलब नआउँदा चाडपर्व खल्लो भएको ल्याब टेक्निसियन धनवीर धामीले पीडा सुनाउनुभयो । 

यसैबिच भारतमा कोरोनाको नयाँ भेरियन्ट फेलापरेसँगै सीमा नाकाको स्वास्थ्य व्यवस्थित बनाउन स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली झुलाघाटको निरीक्षण गरेर फर्किएको छ । 

महाशाखाका डा। हेमन्त ओझासहितको टोलीले झुलाघाट स्वास्थ्य चौकीको सेवा प्रभावकारी बनाउन सरोकारवाला निकायसँग अभिमुखीकरण कार्यक्रमसमेत गरेको छ । अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो पोखेका छन् । 

झुलाघाट स्वास्थ्य चौकीका लागि आवश्यक बजेट अर्थ मन्त्रालयबाट घटेर आएकाले काठमाडौँ फर्केपछि आवश्यक बजेटको व्यवस्था गरी स्वास्थ्यकर्मीलाई मासिक ३२ हजार रुपियाँका दरले तलब खुवाउन पहल गर्ने महाशाखाका डा। हेमन्त ओझाले आश्वासन दिनुभएको छ । 

सीमानाका झुलाघाट स्वास्थ्य चौकीको सेवा प्रभावित हुन नदिन स्वास्थ्य कार्यालयले आवश्यक पर्ने औषधी, किट उपलब्ध गराइरहेको स्वास्थ्य प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । भारतबाट विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सङ्घ, प्रदेश र स्थानीय तह मातहत रहेका सबै स्वास्थ्य संस्था र स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो ।  

clock शनिबार १४, पुष २०८० ०७:०२

प्रतिक्रिया