टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपीडी सेवा

  शुक्रबार २२, मङि्सर २०८० ०६:३६

टीकापुर । टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपीडी सेवा सुरु गरेको छ। यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपीडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।

कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपीडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ। बिहानैदेखि ओपीडी सुरु भएपछि आफूलाई सहज भएको टीकापुरका सुवर्ण चौधरीले बताए। ’आमाको उपचारका लागि कार्यालयमा बिदा लिएर अस्पताल आएको थिएँ, ’उनले भने, ’बिहान ९ बजे नै आमाको उपचार सकिएपछि बिदा रद्द गरेर कार्यालय जान सकेँ।’

अस्पतालले बिहानको समयमा ओपीडी सेवा सञ्चालन गर्दा आफूहरूलाई सहज भएको स्थानीय नरबहादुर विष्टले बताए। त्यसैगरी लम्कीबाट उपचारका लागि टीकापुर अस्पताल आएकी सीता देवकोटाले पनि ओपीडी सेवा बिहानै सुरु भएकाले धेरै समय कुर्नु नपरेको बताइन्। अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले ओपिडी सेवाको समय बढाउने निर्णय यसअघि नै गरेको बताए।

नाम दर्ताका लागि अस्पताल पुग्ने व्यक्ति उपचार नगरी घर नफर्किओस भन्ने उद्देश्यले ओपीडी सेवा बिहानैदेखि सुरु गरिएको उनले बताए। ’सेवाग्राहीहरूले बिहान नाम दर्ता गरेर घर फर्कने र फेरि उपचारका लागि आउनु पर्ने बाध्यता थियो, बाहिरबाट आउने सेवाग्राहीले पनि लामो समय कुर्नुपर्ने अवस्था थियो,’ उनले भने, ’सेवाग्राहीको भिडभाड कम होस्, सबैले सर्वसुलभ सेवा पाउन भनेर ओपिडी सेवा विहानैदेखि सुरु गरिएको हो।’

अस्पतालले जेष्ठ नागरिकहरूका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा उपलब्ध गराउँदै आएको छ। हाल अस्पतालमा हाल २० जना चिकित्सकले सेवा दिइरहेका छन्। अस्पतालले मृगौलाको डायलासिस सेवा सञ्चालनको प्रक्रिया अघि बढाएको छ।

clock शुक्रबार २२, मङि्सर २०८० ०६:३६

प्रतिक्रिया