एक महिनामा गेटा अस्पतालले दियो चार सय बढीलाई उपचार सेवा

  शनिबार ०९, मङि्सर २०८० १४:४८

धनगढी । कैलालीको गेटा अस्पतालले एक महिनामा साढे चार सय भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत गेटा मेडिकल कलेजको भवनमा कात्तिक १ गतेदेखि न्यूनतम स्वास्थ्य सेवा सहितको अस्पताल सञ्चालनमा ल्याएको थियो ।

एक महिनाको अवधिमा अस्पतालमा चार सय ६० जनाले ओपीडीमार्फत उपचार सेवा लिएको अस्पतालका कम्प्युटर अपरेटर भरत जोशीले जानकारी दिए । उनकाअनुसार अस्पतालबाट दुई सय ३२ जना महिला र दुई सय २८ जना पुरुषले सेवा लिएका छन् भने महिला र पुरुष गरेर ५५ जनाको निःशुल्क उपचार गरिएको छ ।

गेटा अस्पतालले अहिले ओपीडी सेवा मात्रै सञ्चालन गरिरहेको छ । अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले स्वास्थ्य सेवा सुरु गरेपछि सबै खालका बिरामीहरु उपचारका लागि पुग्न थालेको बताए । अन्य अस्पतालमा उपचार गराउँदै आएका बिरामी समेत सेवा लिन आइरहेको उनी बताउँछन् ।

‘अहिले लगभग सबै किसिमका बिरामीहरु आइरहनुभएको छ । उहाँहरु मध्ये कति जनाले अरु हस्पिटलमा देखाइसकेर पनि यहाँ आउनुभएको छ । जटिल खालका बिरामीहरु पनि आइरहेका छन्,’ जोशीले भने, ‘उहाँहरुलाई हामीले उपचारका अतिरिक्त काउन्सिलिङ गर्ने कामहरु पनि भइरहेको छ । सामाजिक सेवा इकाइकोतर्फबाट केहीले निःशुल्क सेवा लिनुभएको छ ।’

अहिले ओपीडी सेवा सञ्चालन गरिएपनि निकट भविष्यमा अस्पताललाई थप व्यवस्थित गर्दै लैजाने निर्देशक जोशीले बताए । मेडिकल कलेजबाट भवनको अनुमति प्राप्त गरेपछि अन्य सेवा समेत बिस्तार गरिने उनको भनाइ छ ।

अस्पतालले क्रमशः आकस्मिक सेवा, आईसीयू सेवा, हाडजोर्नी तथा नसारोग, जनरल सर्जरी, अल्ट्रासाउड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालन गरिने जनाएको छ । गेटा अस्पतालमा अहिले सरकारले ११ जना विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारी समेत गरेर २६ जना जनशक्ति पठाएको छ ।

सरकारले गेटा मेडिकल कलेजमा ६ सय शैयाको अस्पताल सञ्चालन गर्ने भनेपनि अहिले न्यूनतम स्वास्थ्य सेवासहितको अस्पताल मात्र सञ्चालनमा ल्याइएको हो । गेटा मेडिकल कलेज सञ्चालनमा समेत ढिलाई हुँदा ६ अर्ब बढि बजे खर्च गरेर बनाइएका भौतिक संरचना जीर्ण हुन थालेका छन् ।

clock शनिबार ०९, मङि्सर २०८० १४:४८

प्रतिक्रिया