सेती अस्पतालमा नवजात शिशुको मृत्यु

  बुधबार ०६, मङि्सर २०८० १०:१३

धनगढी । कैलालीस्थित धनगढीको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले जन्माएको शिशुको मृत्यु भएको हो। शल्यक्रियाका क्रममा चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको आफन्तहरूको आरोप छ।

शिशुको मृत्यु भएपछि आमाको पेटमा टाँका समेत नलगाएर डाक्टर अन्जर्ना शर्मा फरार भएको सुत्केरीका आफन्त सुरेश सुनारले आरोप लगाए । हिजा (मंगलबार) बिहान ७ बजे सुत्केरी हुन अस्पताल गएकोमा राति अप्रेसनका क्रममा शिशुको मृत्यु भएको सुनारले बताए।

ताराको पेट काटिएकै अवस्थामा छोडेर डाक्टर अन्जर्ना शर्मा अस्पतालबाट फरार भएको उनले बताए। अस्पताल प्रशासनले भने घटनापछि चिकित्सकहरू फरार नभएको दाबी गरेको छ। 

सुत्केरीका आफन्तहरू आक्रामक शैलीमा उत्रिएपछि चिकित्सकहरू क्वाटरमा बसिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बताए। 

उपचारमा संलग्न डाक्टरहरूसँग छलफलपछि मात्रै सबै जानकारी बाहिर आउने उनले बताए। सुत्केरीका आफन्तहरूले लापरबाही गर्ने चिकित्सहरुमाथी कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन्।

clock बुधबार ०६, मङि्सर २०८० १०:१३

प्रतिक्रिया