धनगढीका निजी स्रोत शिक्षकहरूलाई नगर शिक्षक नियुक्त गरिने

  सोमबार ०४, मङि्सर २०८० २०:०६

धनगढी । धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत निजीस्रोत शिक्षकहरूलाई नगर शिक्षकमा नियुक्ति गर्ने भएको छ। धनगढी उपमहानगरपालिका र निजीस्रोत शिक्षक सङ्घर्ष समितिका बीच सोमबार भएको सहमतिमा उपमहानगरले शिक्षक विज्ञापन खोलेर हाल निजीस्रोत शिक्षकहरूलाई परीक्षाका माध्यमबाट नगर शिक्षकमा नियुक्त गर्ने भएको हो।

उपमहानगर र निजीस्रोत शिक्षकहरू बीच भएको सहमतिमा धनगढी उपमहानगरपालिकाले नगर शिक्षक वा सो सरहको शिक्षक विज्ञापन गर्दा पहिलो चरणमा हाल सामुदायिक विद्यालय को निजी /आन्तरिक स्रोतमा कार्यरत सबै शिक्षकहरू बीच मात्र शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धात्मक परीक्षाको पाठ्यक्रम बमोजिम विज्ञापन गरी पदपूर्ति गर्ने निर्णय भएको छ।

नगर शिक्षकको परीक्षा लिँदा निजी स्रोतका शिक्षकहरूको हकमा उमेर हद नलाग्ने र निजीस्रोत शिक्षकहरू मध्येबाट पदपूर्ति नभएमा वा विषयगत योग्यता नपुगी रिक्त रहेका पदमा मात्र खुला प्रतिस्पर्धात्मक परीक्षाबाट पदपूर्ति गर्ने सहमति भएको शिक्षा महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए।

उपमहानगरले लिने परीक्षामा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलाउने क्रममा सामुदायिक विद्यालयको निजीस्रोतमा कार्यरत शिक्षकहरू विस्थापित भई सेवा छुटेको भए त्यस्ता शिक्षकहरूलाई पनि नगर शिक्षकहरूले पनि प्रतिस्पर्धात्मक परीक्षामा भाग लिन पाउने छन्। तर, ६० वर्ष उमेर पुगेका शिक्षकहरूले भने परीक्षामा भाग लिन नपाउने सहमति भएको शिक्षा महाशाखा प्रमुख खातीले बताए।

clock सोमबार ०४, मङि्सर २०८० २०:०६

प्रतिक्रिया