विपन्न वर्गका मानिसलाई निःशुल्क उपचार गर्न १२ अस्पताललाई धनगढी उपमहानगरपालिकाको पत्र

  बिहिबार १६, कार्तिक २०८० ०६:२७

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले गरीब (विपन्न) असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न १२ अस्पताललाई परिपत्र गरेको छ ।

पटक–पटक लिखित जानकारी गरिएको भए तापनि निःशुल्क उपचार सम्बन्धी प्रावधान कार्यान्वयन नभएको परिपत्रमा उल्लेख गरिएको छ ।

धनगढीका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा निःशुल्क उपचारको प्रावधान लागू नगरिए प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी दिइएको छ । कूल शय्याको १०% शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने कानूनी प्रावधान छ ।

धनगढीमा निजी लगानीमा खुलेका मायामेट्रो अस्पताल, नवजीवन अस्पताल, कैलाली अस्पताल, स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी, ओम आशा अस्पताल, सारथी अस्पताल, निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर, सिपी अस्पताल, केजी अस्पताल, सौभाग्य अस्पताल एण्ड रिसर्च सेन्टर, नोभा अस्पताल र धनगढी नेत्रालय मध्ये कुनै पनि अस्पतालले कुल शय्याको १० प्रतिशत शय्या विपन्न, असहाय र बेवारिसेलाई  निःशुल्क गरेको विवरण पेश नगरेको उपमहानगरले जनाएको छ।

धनगढीका निजी अस्पतालहरूले उपमहानगरलाई विवरण नपठाएपछि चौथो पटक कात्तिक १५ गते स्वास्थ्य संस्था सञ्चालन मापदण्ड,२०७७ बमोजिम निःशुल्क उपचारको व्यवस्था मिलाउन धनगढीमा सञ्चालित निजी अस्पतालहरूका नाममा उपमहानगरले पत्र काटेको छ।

धनगढीमा सञ्चालित १२ वटा निजी अस्पतालले कुल शय्याको १० प्रतिशत शय्या निःशुल्क गरे विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार सहजै हुने अवस्था रहे पनि अस्पताल  सञ्चालकहरूले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ र उपमहानगरको आग्रहको अटेरी गर्दै आएका छन्।

clock बिहिबार १६, कार्तिक २०८० ०६:२७

प्रतिक्रिया