बाजुरामा प्रसुति गृह सञ्चालन नहुँदा समस्या

  सोमबार ०६, कार्तिक २०८० १४:४३

बाजुरा । बाजुरामा विभिन्न ठाउँमा निर्माण गरिएका प्रसुति गृहबाट सेवा सुचारु नहुँदा यहाँका महिलालाई सुत्केरी गराउन समस्या भएको छ । प्रदेश सरकारको आर्थिक सहगोगबाट निर्माण गरिएका प्रसूति गृहबाट अझै सेवा सुचारु नहुँदा यहाँका महिलालाई सुत्केरी गराउन समस्या भएको हो ।

बाजुराको बूढीगङ्गा नगपालिका वडा नम्बर १ र २ अम्कोट र बह्मतोलाबीच पाल्नेढोरमा निर्माण गरिएको प्रसूति गृहबाट अझै सेवा सुचारु नहुँदा यहाँका महिलालाई सुत्केरी गराउँदा समस्या हुनेगरेको बह्मतोलाका स्थानीय महिला जाल्पादेवी थापाले बताए ।

उनले भने, “गाउँका महिलालाई गाउँमै सुत्केरी गराउन सहजताका लागि निर्माण गरिएको यो प्रसूति गृह सेवा सुचारु नहुँदा बह्मतोला, धाभुवाँ, अम्कोट, बल्दे, खस्रेखेत र जमालवाडा लगायत ठाउँका गर्भवती महिला अझै दुई घण्टाको बाटो हिँडेर बह्मतोला स्वास्थ्य चौकीमा जाने गरेका छन् ।” 

गर्भवती महिलालाई प्रसूति गराउन सहज हुनेगरी बूढीगङ्गा नगपालिकाको अम्कोट र बल्देको माथि कन्सर्न बाजुराको बीच घट्टाला बस्ने ठाउँमा २०७७ कात्तिक ७ गते  प्रसूति भवन निर्माण भएको थियो ।

यहाँका महिलाले सेवा सुचारु गर्न माग गर्दैआएको भए पनि अहिलेसम्म कसैले सुनुवाइ गरेको छैन् । अन्य वडामा सुत्केरी गराउन गाउँमै प्रसूति गृह सञ्चान भएका छन् । तर हाम्रो गाउँमा भने भवन निर्माण भए पनि सेवा सुचारु नहुँदा सुत्केरी गराउन सास्ती खेप्दै आउनुपरेको छ । 

त्यहाँका महिलाले कहिले व्यथा चलेकै समय पीडा सहँदै राति दुई घण्टाको बाटो  हिडेर सुत्केरी गराउन बह्मतोला स्वास्थ्य चौकीमा जान बाध्य भएको थापाले बताए ।

स्थानीय सरकारले ठूलो लगानी गरेर गाउँमै प्रसूति गृह निर्माण गरे पनि त्यसबाट सेवा सञ्चालन नहुँदा अहिले त्यो जीर्ण बन्दैगएको बूढीगङ्गा नगपालिका –१ बालमैत्री आरधारभूत विद्यालयका शिक्षक बहादुर थापाले बताए।

उनले, लामो समयसम्म सेवा सुचारु नहुँदा भवन र यहाँ बनेका अन्य शौचालय समेत जीर्ण बन्दैगएको बताए । प्रदेश सरकारको अर्थिक सहयोगमा बूढीगङ्गा नगरपालिकाले सात वडामा झण्डै एक करोड पाँच लाख रुपियाँ लगानीमा सात वटा प्रसूति गृह निर्माण गरेको छ । 

तीमध्ये अधिकांश भवन सञ्चानलमा ल्याएको भए पनि केही प्रसुति गृह  भने अझै सञ्चालनमा आएका छैन । बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाहले सुत्केरी गराउन तथा गाउँमा खोप लगाउन जाँदा सहजताका लागि प्रदेश सरकारले ती भवन निर्माण गरेको बताए।

उहाँले ती भवनबाट नै यहाँका स्थानीयले प्रसूति सेवा सञ्चालनको माग गर्दैआएका छन् । कर्मचारी नभएकै कारण ती भवनबाट सेवा समस्या भएको बताए।

clock सोमबार ०६, कार्तिक २०८० १४:४३

प्रतिक्रिया