अत्तरिया हस्पिटलले गर्‍यो लापसे चेकजाँच सुरक्षाकर्मीलाई किट सहयोग

  मङ्गलबार २३, असोज २०८० १२:१८

अत्तरिया । कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेती र ट्राफिक प्रहरी कार्यालयलाई लापसे (लागूपदार्थ सेवन) चेकजाँच गर्ने किट सहयोग गरिएको छ ।

अत्तरिया हस्पिटल प्रा.लि. ले इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई उक्त किट सहयोग गरेको हो । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी कार्यालय र ट्राफिक प्रहरीलाई १०० पिस किट उपलब्ध गराएको अस्पतालका प्रशासन प्रमुख डिल्ली पाठकले जानकारी दिए ।

उनले पछिल्लो समय बढ्दै गएको लागूपदार्थको दुर्व्यसनका कारण दुर्घटनाका घटनाहरू बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि चेकजाँच गर्ने किट उपलब्ध गराइएको बताए ।

‘प्रदेशकै प्रवेशद्वार भएकाले पनि यहाँ लागु औषधको सेवन एवम् कारोबार बढी छ’ उनले भने ‘लागु औषधको सेवन रोक्नका लागि त्यसको चेकजाँच हुन आवश्यक छ र त्यसका लागि किट आवश्यक छ भन्ने सोचेर हामीले यो योजना बनाएका हौ ।’

उनले अस्पतालले प्रदान गरेको सहयोगले अत्तरिया क्षेत्रमा लागु औषधको सेवन केही हद सम्म कम हुने अपेक्षा लिएको समेत बताए ।

clock मङ्गलबार २३, असोज २०८० १२:१८

प्रतिक्रिया