एमाले सुदूरपश्चिम अधिवेशन : सर्वसम्मत प्रयास विफल, निर्वाचनको प्रक्रिया सुरू

  मङ्गलबार २३, असोज २०८० ०९:२२

धनगढी । नेकपा एमाले सुदूरपश्चिम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रारम्भिक प्रयास विफल भएपछि मंगलबार बिहानदेखि निर्वाचन प्रक्रिया सुरू गरिएको छ । मंगलबार बिहान उम्मेदवारी दर्ताको समय तालिका निर्धारण गरिएको छ । मंगलबार अपराह्न ५ बजेदेखि मतदानको सुरु हुने तालिका निर्धारण गरिएको छ ।

आइतबारदेखि सोमबारसम्म महासचिव शंकर पोखरेलले अध्यक्ष पदका आकांक्षी उम्मेदवार र यस प्रदेशबाट नेतृत्व गर्ने अगुवा नेता कार्यकर्ताहरुलाई सहमतिको प्रयास गरेका थिए । तर अध्यक्ष पदका उम्मेदवार कमल तिमिल्सिना र कृष्णप्रसाद जैसीबीच समझदारी नभएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको हो । 

उद्घाटनलगत्तै फर्किएका अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई सहमति गराउने जिम्मेवारी दिएका थिए । पोखरेलसमेत सोमबार दिउँसो नै फर्किसकेका छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित १५५ जनाको प्रदेश कमिटि चयन गर्ने छ ।

हालसम्म तीन जनाले अध्यक्षको पदमा आफ्नो दाबी सार्वजनिक गरेका छन् । कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र बचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी सार्वजनिक गरेका छन् । यसबीचमा कार्यकर्ताहरु तिमिल्सिना र जैसीका लागि अलगअलग कित्तामा नेता कार्यकर्ताहरु बाँडिएका देखिन्छन् ।

निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारी, केन्द्रिय सचिव लेखराज भट्ट समर्थित प्रतिनिधि एकातिर र कर्णबहादुर थापा समूह अर्कोतिर विभाजित देखिएका छन् । भण्डारी र भट्टको साथ तिमिल्सिनालाई रहेको देखिएको छ भने थापा पक्षधर नेता कार्यकर्ताहरुको साथ जैसीलाई रहेको एमाले कार्यकर्ताहरु बताउँछन् ।

केन्द्रीय पदाधिकारीहरुको कसको कसलाई समर्थन छ भन्न स्पष्ट संकेत भने प्रष्ट भइसकेको छैन । उद्घाटनका क्रममा अध्यक्ष ओलीले भने सकभर सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिन भनेका थिए ।

clock मङ्गलबार २३, असोज २०८० ०९:२२

प्रतिक्रिया