बझाङमा भूकम्पपछि अस्पतालबाहिरै सुत्केरी गराउन प्रयास

  मङ्गलबार १६, असोज २०८० १६:३५

धनगढी । बझाङमा भूकम्पको धक्कापछि जिल्ला अस्पतालमा बिरामीलाई बाहिरै सेवा दिइएको छ। दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएपछि एक गर्भवती महिलालाई अस्पतालबाट बाहिर निकालिएको छ। 

अस्पतालका नर्सहरू गर्भवती महिलालाई अस्पताल बाहिर प्राङ्गणमा राखेर सुत्केरी गराउन प्रयास गरिरहेका छन्। भूकम्पपछि लगातार पराकम्प आइरहेकाले बाहिर राखेर सुत्केरी गराउन लागिएको अस्पताल प्रशासनले जनाएको छ। 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६।३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो। केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ। भूकम्पका कारण बझाङमा केही घर र विद्यालय भवन भत्किएका समाचार आए पनि विस्तृत विवरण आउन बाँकी छ।

clock मङ्गलबार १६, असोज २०८० १६:३५

प्रतिक्रिया