डडेलधुरा अस्पतालमा ओपिडी सेवाका लागि समयावधि थप

  मङ्गलबार ०९, असोज २०८० ०८:३३

डडेलधुरा। डडेलधुरा अस्पतालले ओपिडी सेवा सञ्चालन हुने समयावधि थप गरेको छ । अब बिहान ९:३० देखि साँझ ५ बजेसम्म सेवा सञ्चालन हुने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सन्तोष गुप्ताका अनुसार असोज २ देखि लागु हुने गरी ओपिडी सेवाको समय थप गरिएको हो । सेवाग्राहीको गुनासो सम्बोधन गर्न तथा अस्पतालको सेवा थप प्रभावकारी बनाउन नयाँ कामको सुरुवात गरिएको उनले बताए।

सङ्घीय सरकार मातहत रहेको यस अस्पतालमा विषय विशेषज्ञ चिकित्सकको भने सधैँ अभाव रहने गरेको छ । १९ जना विषय विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि पदपूर्ति हुन सकेको छैन ।

नवौँ तहमा बढुवा भएर बालरोग विशेषज्ञ डा सन्तोष गुप्ता निमित्त मेसु भएर डडेलधुरा अस्पताल आएसँगै केही चिकित्सक पनि थपिएका छन् । हाल सात जना बालरोग विशेषज्ञ कार्यरत रहेको निमित्त मेसु गुप्ताले जानकारी दिए । 
बिज्ञापन

उनका अनुसार एक जना स्त्री रोग, एक जना रेडियोलोजिस्ट, एक जना हाडजोर्नी, एक जना मेडिकल अफिसर एमडिजिपी र एक जना एनएसथेसिया रहेका छन् । मेडिकल अधिकृत भने हाल १९ जना रहेका छन् ।

दरबन्दी अनुसार पदपूर्तिका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा माग सिफारिस गरे पनि पदपूर्ति हुन नसकेको उहाँको भनाइ छ । करारमा भर्ना गर्न दरबन्दी आह्वान गरे पनि निवेदन नपर्ने गरेको उनले बताए।

२०७५ सालमै विशिष्ट विशेषज्ञ अस्पताल बनाइए पनि अहिलेसम्म स्वीकृत दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै रहेका छन् । उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । 

स्वीकृत दरबन्दी अनुसार एक जना ११ औँ तहको मेडिकल सुपरिन्टेन्डेन्ट, नवौँ र १० औँ तहका थप १९ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्ने व्यवस्था छ । दरबन्दीमा नवौँ र १० औँ तहका एक जना पनि चिकित्सक कार्यरत छैनन् । १०९ जनाको स्वीकृत दरबन्दी रहेकामा ४७ पद रिक्त छन् । गोरखापत्रबाट

clock मङ्गलबार ०९, असोज २०८० ०८:३३

प्रतिक्रिया