एमाले उपाध्यक्ष सुबास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

  बिहिबार २८, भदौ २०८० १४:५७

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा हजारौं सुभचिन्तकको उपस्थितिमा छोराहरुले लिम्बु संस्कार अनुसार नेम्वाङको पार्थिव शरीरमा दागबत्ती दिएका थिए ।

त्यस क्रममा नेपाली सेनाको शोक धुन बजाएको थियो । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । यसैगरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङको निवास बालुवाटारबाट शव आर्यघाट ल्याइएको थियो ।

नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो । यही भदौ २६ गते निधन भएका नेम्वाङको अन्त्येष्टि हुने दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

clock बिहिबार २८, भदौ २०८० १४:५७

प्रतिक्रिया