गर्भपतनलाई सुरक्षित बनाउन अनुगमनमा जोड दिनुपर्ने सञ्चारकर्मीको सुझाव

  शनिबार २३, भदौ २०८० १७:०१

धनगढी । गर्भपतनलाई सुरक्षित बनाउन सरोकारवाला निकायले अनुगमन गदै असुरक्षित गर्भपतनमा कमी ल्याउनुपर्ने सञ्चारकर्मीहरुले सुझाव दिएका छन् ।

धनगढीमा कृपा संस्थाद्धारा आयोजित सुरक्षित गर्भपतन सेवाहरूमा कमीहरू सम्बोधन गर्ने विषयक सञ्चारकर्मीसंग आयोजित अभिमुखिकरण कार्यक्रममा सहभागि सञ्चारकर्मीले अनुमति नलिएका औषधि पसल तथा स्वास्थ्य संस्था नियमन र अनुगमनमा जोड दिन सुझाव दिएका हुन् ।

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले सरोकारवाला निकायले औषधि पसल अनुगमन नगर्नु असुरक्षित गर्भपतनले बढावा पाउनु प्रमुख कारण रहेको बताए । उनले भने –‘नियमन निकायलाई जानकारी हुन्छ तर, अनुगमन गर्दैनन् । नीजि अस्पताल तथा औषधि पसलमा खुलेआम गर्भपतनका औषधि विक्री वितरण भईरहेका छन् ।’

कृपाका निर्देशक आनन्द तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गर्भपतनमा सञ्चारकर्मीको भुमिकाबारे पत्रकार उद्धव पुरी, सुदूरपश्चिम प्रदेशमा गर्भपतनको अवस्थाबारे सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की, गर्भपतन नियन्त्रणका लागि प्रदेश सरकारले ल्याउन लागेको निर्देशिकाबारे स्वास्थ्य विज्ञ लक्ष्मी राज पाठकले प्रस्तुति गरेका थिए ।

कार्यक्रममा मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकारी हेमराज खडका, सिनियर जनस्वास्थ्य अधिकारी शिवराज सुनार, सचिव ज्ञानप्रसाद ढकाल लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

clock शनिबार २३, भदौ २०८० १७:०१

प्रतिक्रिया