कालापानीमा दावी गर्ने सरकार नागरिकका समस्याप्रति बेखवर
धनगढी । छाङरुबाट फर्केर दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुका योगेश सिंह बोहराको भान्छामा चीनमा निर्मित धुवा रहित चुलो छ । त्यही भान्छामा छ, भारतको ग्याँस । भान्छामा पाक्ने चामल, नुन तेल दाल भारतबाटै आउछ । छाङरुका बासिन्दाले सदरमुकाम दार्चुला जादा भारत भएरै जानुपर्छ ।
सरकारले उनीहरुलाई नेपाली भएको एउटा निस्सा दिएको छ–नागरिकता । उनीहरु नेपाली हो भन्ने आधार त्यही नागरिकता हो । लिम्पियाधुरा र कालापानीमा दावी गर्ने सरकार त्यही कालापानी मुन्तिर महाकाली नदी छेउमा अवस्थित देशकै अन्तिम बस्ती छाङरुका बासिन्दाका समस्याप्रति भने बेखबर छ । सदरमुकामसंग जोड्ने सडक मार्ग निर्माणका लागि आग्रह गर्दा गर्दा अव त थाकिसक्यौ,स्थानीय दीपक सिंह बोहरा भन्छन्, हामी देशभित्रै त छौ । तर सरकार बिहीन छौ ।
छाङरुमा उवा, फापर र आलु फल्छ । यसले न जीविका चल्छ । न त पेट भरिन्छ । उनीहरु नुन देखि सुनसम्म सबै चिजमा भारत र चीनमा निर्भर छन् । जोमाथि निर्भर छन्, त्यसकै बिरुद्ध आफ्नो भू-गोलका रक्षाका लागि वर्षौदेखि उभिएका उनीहरु सगर्व भन्छन्, यो भूमिको रक्षा हामीले गरेका हौ । योगेश सिंह बोहरा भन्छन्, हामी सीमामा तैनाथ बिना बर्दीका सिपाही हौ ।
हामीले लिपुपेक, कालापानी,गुञ्जी, नाभी, कुटी, लिम्पियाधुरा त गुमायौ । हामी नभए छाङरु र तिंकर पनि हाम्रो रहन्थेन । राजधानीमा राष्ट्रियताका चर्का नारा लाग्न थालेपछि छाङरु र तिंकर भारतको अघोषित नाकाबन्दी व्यहोर्न थाल्छन । सञ्चार र यातायातबाट बञ्चित यहाँका बासिन्दा सीमामा आवातजावमा कडाई हुदा अड्कल काट्छन, काठमाण्डौंमा पक्कै केही भयो ।
गतवर्ष यस्तै भयो । सरकारले चुच्चे नक्सा जारी गरेपछि छाङरुका बासिन्दाले अघोषित नाकाबन्दी व्यहोरे । कोरोनाका कारण चीनले पहिले नै नाका बन्द गरिसक्यो । अत्यन्त मित्रवत रहेको भारतीय व्यवहारमा अचानक आएको परिवर्तनले उनीहरु आत्तिए । कोरोनाका कारण तिब्बतसंगको व्यापार र आवातजावत पहिले नै बन्द भईसकेको थियो । भारतले समेत नाकामा कडाई गरेपछि उनीहरु आत्तिएका थिए । नाकाबन्दी लम्बिए भोकमरी र अभाव झेल्नुपथ्र्यो ।
उनीहरु भन्छन्, लिम्पियाधुरा र कालापानीलाई लिएर सरकार र दलहरु ‘पोलिटिकल स्टन्ट’ गरिरहन्छन । चुनाव जित्न र सरकार जोगाउन बाहेक उनीहरुलाई कालापानी र लिपुपेक याद आउछ । अरु बेला यो मुद्दा कसैलाई याद आउदैन, योगेश भन्छन्, त्यो ‘पोलिटिकल स्टन्ट’ को असरबाट छाङरु र तिंकरका बासिन्दा प्रताडित भईरहेको कसैलाई वास्ता छैन ।
सीमा अतिक्रमणको विषयमा बेलाबेला बल्झिरहने नेपाल–भारत सम्बन्धको सोझो असर सीमावर्ती वस्तीहरुमा परिरहन्छ । तर काली नदी वारीपारी फैलिएका दुईदेशका सौका जातीका बीचको रोटी–बेटीको सम्बन्धले जनजीवन कष्टकर हुन पाउदैन । सीमा बिबाद कुटनैतिक तवरबाट समाधान गर्नुको साटो नारावाजी र वक्तव्यहरुमा अल्झाईरहदा नेपालका राजनैतिक दलहरु चुनावमा मुद्दा बिहीन हुन पाएका छैनन । तर त्यही सीमा अतिक्रमण र राष्ट्रवादको मुद्दामा चुनाव जित्नेहरु सरकारमा पुगेपनि न सीमा बिबाद सुल्झिएको छ । न त देशको बाँकी भू(गोलसंग सडक र सञ्चारसंग जोडिने छाङरु र तिंकरका बासिन्दाहरुको सपना पुरा भएको छ ।
बरु राजनैतिक दलका भाषण र वक्तव्यवाजीका कारण भारतले बेलाबेला बाटोमा अवरोध सृजना गरिरहन्छ । र उनीहरुलाई सदरमुकाम पुग्न गाह्रो हुन्छ । काठमाण्डौंमा राष्ट्रवादका चर्का कुरा गर्ने कोही पनि अहिलेसम्म यहाँ पुगेका छैनन, योगेश भन्छन्, लिपुलेक जान्छु भनेर दार्चुला सदरमुकामबाटै फर्किन्छन । अरुको के कुरा, मन्त्री र सुरक्षा निकायका प्रमुखहरु हेलिकोप्टरमा छाङरुसम्म पुग्छन । आश्वासन दिन्छन । फर्किन्छन, दीपक सिंह बोहरा भन्छन्, अहिलेसम्मका सरकारबाट आश्वासन बाहेक केही पाएनौ । छाङरु र तिंकरमा टेलिफोन छैन । स्थानीयले वत्ती बालेका छन्, त्यो आफ्नै बलबुतामा र मिहिनेतमा । पोलको माग गर्दा थाकेका उनीहरु सरकारको भर परेनन । आफैले काठ पोल बनाए । ठ्ड्याए । तार बाँधे । र, वत्ती बाले । विद्यालय छैन । स्वास्थ्य चौकी छैन ।
संकटकालमा हटाएका भन्सार र अध्यागमनको माग गर्दै छाङरु र तिंकरका बासिन्दा काठमाण्डौं पटक पटक पुगिसके । स्थानीय दीपक सिंह बोहरा भन्छन्, त्रिदेशीय व्यापारलाई बैधता दिदा राज्यलाई राजस्व प्राप्त हुने सुझाव पनि सरकारले सुनेन । सदरमुकाम खलंगाबाट छाङरु चार दिनको पैदल दूरीमा छ । र तिंकर पुग्न पाँच दिन लाग्छ । तर तिंकर जोड्ने १३४ किमी लामो सडक खण्डको सुनसेरासम्मको करीव ४२ किमी निर्माण भएको छ । तुसारपानीबाट कोठेघारसम्मको सात किलोमिटर सडक निर्माणको ठेक्का पाएको अमर सूर्य जेभी निर्माण कम्पनीले नौ वर्षमा चार किलोमिटर मात्र निर्माण गरेको छ । कोठेघारदेखि तिंकरसम्मको करीव ८७ किमी सडकको निर्माण कार्य त अझै शुरु हुन सकेको छैन । यो खण्डको निर्माणको जिम्मा सेनाले पाएको छ ।
छाङरुका सुदूर पश्चिम प्रदेश सभाका पूर्व सदस्य ग्याल्बु बोहरा सरकारले छाङरु र तिंकरका जनतालाई चरम वेवास्ता गरेको आरोप लगाउछन । सरकारबाट प्राप्त कुनै पनि सेवा, सुबिधा हामीले पाएका छैनो, उनी भन्छन्, मैले कोटामा चामल आउथ्यो । अहिले त त्यो पनि आउदैन । आफैले जोगाएको भू(गोलमा हामी अनागरिक झै बाँचेका छौ ।
प्रतिक्रिया