कैलाली जिल्ला अदालतका ३० हजारभन्दा बढी मुद्दाका मिसिल जलेर नष्ट
धनगढी । कैलाली जिल्ला अदालतमा २००७ सालदेखि हालसम्मका झण्डै ३० हजारभन्दा बढी मुद्दाका मिसिल जलेर नष्ट भएका छन्।
२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले अदालत नियन्त्रणमा लिएर आगजनी र तोडफोड गरेपछि ३० हजार ३४४ मुद्दाका मिसिल फेला नपरेको अदालतले जनाएको छ।
जिल्ला अदालतका निमित्त श्रेस्तेदार दिवानीराम लोहारका अनुसार अभिलेख शाखामा मात्र २००७ सालदेखिका २९ हजार ७७७ मुद्दाका मिसिल अहिलेसम्म फेला परेका छैनन्।
उनका अनुसार, मुद्दा दर्ता फाँटका २११, सरल फाँट–१ का १०७, सरल फाँट–२ का २४६, सामान्य फाँट–१ र २ का तीन मुद्दाका मिसिल हराएका छन्। त्यस्तै तहशिल शाखामा चालू र तामेलीमा रहेका १,६६० निवेदन फाइल, र चालू आर्थिक वर्ष २०८२/८३ मा नयाँ दर्ता भएका १,८३२ मध्ये ५६७ मुद्दा फेला परेका छैनन्।
यद्यपि, चालू र फैसला भएका २,४०१ मुद्दाका फाइल भने सुरक्षित अवस्थामा भेटिएका अदालतले जनाएको छ।
अदालतले हराएका मिसिलहरू पुनःप्राप्तिका लागि सर्वोच्च अदालतले जारी गरेको ुविशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२ु बमोजिम प्रक्रिया अघि बढाइने जनाएको छ।
त्यसका लागि अदालतले सम्बन्धित पक्ष, सरकारी वकिल, कानुन व्यवसायी, अनुसन्धान निकाय र सरोकारवालाहरूलाई आफूसँग रहेका मुद्दासम्बन्धी अभियोपत्र, फिरादपत्र, प्रतिउत्तरपत्रलगायतका कागजातका प्रतिलिपिहरू अदालतमा बुझाउन आग्रह गरेको छ।
कुनैकुनै मुद्दा सर्वोच्च अदालत वा उच्च अदालत दिपायलमा पठाइएका हुनसक्ने भएकाले ती अदालतहरूसँग समन्वय भइरहेको जिल्ला अदालतले जनाएको छ।
प्रतिक्रिया