बझाङ घटना : चोरी गर्न गएका थिए युवक, डरले चक्कु हानेर कैलाली आए

  मङ्गलबार १२, भदौ २०८० ०९:४२

बझाङ । बझाङमा गत मङ्गलवार राति आमा छोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। घटनामा संलग्न कैलाली कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

बझाङ सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका चौधरीले सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय छोरा आदित्य र ४ वर्षीय एबललाई चक्कु प्रहार गरेको प्रहरीलाई बयान दिएका छन् ।

श्रीमान् कलम बिक काठमाडौँमा रहेको अवस्थामा श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो । भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि चौधरीले आक्रमण गरेका थिए ।

मोबाइल चोरी, चक्कु प्रहार

४ गते राति करिब १२ बजेको आसपासमा चौधरीले सुनिता विक र उनका दुई छोरालाई चक्कु प्रहार गरे । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले चौधरी मोबाइल चोर्न घर भित्र पसेको र आफू पक्राउ पर्न सक्ने डरले चक्कु प्रहार गरेको बताए ।

‘घर भित्र बत्ती बलिरहेको र उज्यालोमा मोबाइल देखेपछि त्यही मोबाइल चोर्न ऊ घर भित्र पसेको देखिन्छ’ प्रहरी उपरीक्षक भण्डारीले भने, ‘झ्याप्प कोही उठेको जस्तो लागेर आफू पक्राउ पर्न सक्ने भन्दै अन्धाधुन्द चक्कु हानेको हो । ’

चक्कु प्रहारपछि घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको थियो भने चौधरीले भने चोरेको मोबाइल लिएर कैलाली आउने तरखरमा थिए । उनी दुई दिनपछि घर आउने तयारीमा रहेको र त्यो भन्दा पहिले केहि रकम जोहो गर्न मोबाइल चोर्ने योजना अचानक बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

‘५र७ महिना काम गरेर कमाइ केहि भएन । जाने बेलामा जम्मा ५ हजार हिसाब बचेको रहेछ । २्३ हजार कता तिर्न रहेछ । कमाइ गरेर नसकेपछि चोरेर भए पनि केहि पैसा लैजान्छु भनेपछि ऊ त्यो घर भित्र पसेको देखिन्छ ’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने ।

आक्रमण पछि प्रहरीले त्यस वरपर बस्ने मान्छेहरूका विषयमा छानबिन सुरु गरेको थियो । शङ्कास्पद थुप्रै व्यक्तिहरूको बीचबाट प्रहरीको नजर चौधरी सम्म पुगिसकेको थियो । चौधरी ६ गते नै बझाङबाट कैलाली हिँडिसकेका थिए ।

‘प्रारम्भिक अनुसन्धानले केहि तथ्य देखाएको थियो त्यसैमाथि अभियुक्त व्यक्ति बसमा टिकट काटेरै कैलाली गएको देखिएपछि हाम्रो ठम्याइ अझै बलियो भयो ’ ती प्रहरी अधिकारीले भने ‘त्यस पछि अनुसन्धान बझाङबाट कैलाली केन्द्रित भयो ।’

घटना भएको केहि दिनमै प्रदेश प्रहरी कार्यालयको टोलीसँगको समन्वयमा चौधरी पक्राउ परे । उनको साथमा प्रहरीले बझाङमा चोरी गरेको मोबाइल पनि बरामद गर्‍यो ।

बझाङ प्रहरीले ८ गते नै चौधरीको संलग्नता हुन सक्ने आधार प्रमाण फेला पारिसकेको थियो । तर, बझाङबाट कैलाली पुगेर पक्राउ गर्दा समय लाग्न सक्ने भएको हुँदा प्रहरी नायव उपरीक्षक भण्डारीले प्रदेश प्रहरी कार्यालयलाई जानकारी गराएका थिए ।

९ गते बिहानै प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । उनी घरमै रहेको अवस्थामा ९ गते नै प्रदेश प्रहरीको टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बझाङलाई बुझाएको हो । चौधरीमाथि डाँका चोरी र ज्यान मार्ने उद्योगमा कारबाही अघि बढ्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्सक
clock मङ्गलबार १२, भदौ २०८० ०९:४२

प्रतिक्रिया