कञ्चनपुरमा लेखापाल कुटपिट प्रकरणः सबै विद्यालय बन्द, ७ जना पक्राउ

  सोमबार ११, भदौ २०८० १२:२६

कञ्चनपुर । कञ्चनपुरमा सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएका छन्। भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल बिरेन्द्र जोशीमाथि कुटपिट गर्नेहरुलाई कारबाहीको माग राख्दै जिल्लास्थित सामुदायिक तथा निजी विद्यालय अनिश्चितकालिन बन्द गरिएका हुन्।

प्रहरीको नियन्त्रणमै शिक्षकमाथि कुटपिट भएको घटनाको उच्चस्तरिय छानबिन टोलीको गठन गर्नुपर्ने, शिक्षकलाई पक्राउ गरेर लैजाने प्रहरीलाई निलम्बन गरी कारबाही हुनुपर्ने, शिक्षकको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्योहोर्नुपर्ने नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिको माग छ।

यता, शिक्षक जोशी परिवारले दिएको किटानीका आधारमा प्रहरीले ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। गत आइतवार विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि अभिभावक, स्थानीवासी र विद्यार्थीले उनीमाथि आक्रमण गरेका थिए।

कुटपिटका कारण सख्त घाइते भएका उनको अहिले पनि धनगढीस्थित निसर्ग अस्पतालको आईसीयूमा उपचार चलिरहेको छ।

clock सोमबार ११, भदौ २०८० १२:२६

प्रतिक्रिया