कञ्चनपुरको भीमदत्तका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

  आइतबार १०, भदौ २०८० ०९:४९

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द भएका छन्। गत हप्ता आइतवार भीमदत्त नगरपालिका वडा नम्बर १० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीलाई सामूहिक कुटपिटको घटनालाई लिएर शिक्षक सम्वद्ध संगठनहरुले विद्यालय बन्द गरेका हुन्।

विद्यालय परिसरभित्रै पसेर आक्रमण गर्नेहरुमाथि प्रहरीले कारबाही गर्न आनाकानी गरिरहेकोले विद्यालय बन्द गरिएको हो। शिक्षकहरुले विद्यालयभित्रै हतकडी लगाएर नियन्त्रणमा लिइएका शिक्षकलाई सुरक्षा दिन नसक्ने प्रहरीमाथि पनि कारबाहीको माग गरेका छन्। साथै, लेखापाल जोशीले विद्यार्थीमाथि गरेको दुर्व्यवहारको सत्यतथ्य छानविनको माग गरिएको जोशीको भनाई छ।

गत आइतवार विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि अभिभावक, स्थानीवासी र विद्यार्थीले उनीमाथि आक्रमण गरेका थिए। कुटपिटका कारण लेखापाल जोशी सख्त घाइते भएका थिए। उनको अहिले पनि धनगढीस्थित निसर्ग अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा उपचार चलिरहेको छ। अहिले उनको प्रहरी निगरानीमा उपचार भइरहेको हो।

लेखापाल जोशीले विद्यालयको सिंढीमा भेट हुँदा छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ। अभिभावकले आक्रमणकारी तथा दोषी प्रहरीमाथि कारबाही नभएसम्म विद्यालय बन्द गरेका छन्। प्रहरीले किटानी परेकामध्ये ४ जनालाई पक्राउ गरेको छ।

किटानी जाहेरीमा नाम उल्लेख भएका स्थानीय नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताए। कुटपिटमा संलग्न करन मल्ल, मनिष विष्ट, मनोज तिरुवा र शुक्लाफाँटा नगरपालिकाका वासिन्दा दीपक भण्डारी फरार रहेको र उनीहरुको खोजी भइरहेका कञ्चनपुर प्रहरीले बताएको छ। 

clock आइतबार १०, भदौ २०८० ०९:४९

प्रतिक्रिया