डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै सेती अस्पतालमा तनाव

  सोमबार ०४, भदौ २०८० २०:५९

धनगढी । सेती प्रादेशिक अस्पतालमा बिरामीको मृत्युु भएपछि तनाव सिर्जना भएको छ । सोमबार दिउँसो घरमा बेहोस् भएपछि उपचारका लागि ल्याइएका धनगढी उपमहानगरपालिका–१० बस्ने ४० वर्षीय अरूणकुमार रानाको मृत्यु भएपछि तनाव भएको हो ।

बेला–बेला मिर्गी आउने समस्या भएका रानाको अस्पतालको लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन् । मृतककी भतिजी सोनियम रानाले आकस्मिक कक्ष लगिएका अरुणलाई डाक्टरले ओपिडी कक्षमा पठाएको र एक घण्टासम्म नआएपछि मृत्यु भएको बताइन् ।

‘उहाँ एक्कासी ढलेर बेहोस भएपछि १२ बजेतिर अस्पताल ल्याएका थियौँ । ईमरजेन्सी कक्षमा लग्यौँ तर त्यहाँबाट टिकट काटेर ओपीडी चेकजाँच गर्ने ठाउँमा लैजान भनियो,’ रानाले भनिन्, ‘एक घण्टासम्म डाक्टर आउनुभएन । दुई बजेतिर फेरी बेहोस् भएर उहाँको मृत्यु भयो ।’

मृतककी दिदी समेत रहेकी पूर्व प्रदेशसभा सदस्य मालामती रानाले डाक्टरको लापरवाहीको कारण भाइको मृत्यु भएको भन्दै घटनाको छानबिन गरेर कारवाही नहुँदासम्म शव नउठाउने बताइन् । ‘यो अस्पतालमा जहिल्यै लापरवाही हुने गरेको थियो । आज यहाँका डाक्टरको लापरवाहीका कारण मैले पनि आफ्नो भाइ गुमाएकी छु,’ रानाले भनिन्, ‘घटनाको छानबिन गरी दोषीलाई कारवाही नगरेसम्म हामी शव उठाउदैनौँ ।’

प्रादेशिक अस्पताल मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले रानाको मृत्यु भएको घटनाबारे बुझिरहेको बताउदै त्यसपछि मात्र आधिकारीक प्रतिक्रिया दिने बताएका छन् ।

clock सोमबार ०४, भदौ २०८० २०:५९

प्रतिक्रिया