दुर्गममा कर्मचारी नबस्ने प्रवृत्ति घातक : प्रधानमन्त्री दाहाल

  सोमबार ०४, भदौ २०८० १४:२३

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुर्गममा कर्मचारी बस्न नचाहने प्रवृतिप्रति आफू गम्भीर रहेको बताएका छन्। कर्णाली प्रदेश स्थापना तथा शहीद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय सरकारले पनि त्यस विषयमा ध्यान दिन नसकेको भन्दै अब यो समस्या समाधानका लागि आफूले ठोस पहल गर्ने बताए।

उनले भने, ‘संघीय सरकारले पनि पर्याप्त ध्यान नदिँदा प्रदेश सरकारका कामकारबाहीहरू प्रभावित भएको भन्ने यहाँहरूको गुनासोलाई मैले गम्भीरतापूर्वक लिएको छु। आगामी दिनमा यो समस्याको उचित सम्बोधनका लागि आवश्यक पहल लिने विश्वास पनि दिलाउँछु।’

त्यस्तै बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहने उनको प्रतिबद्धता छ।

उनले भने ‘कर्णालीको विकासलाई मैले सधैं प्राथमिकतामा राख्दै आएको छु, आगामी दिनमा समेत नीति, कार्यक्रम र बजेटमा यस प्रदेशलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

अथाह प्राकृतिक साधनस्रोत हुँदाहुँदै पनि भौतिक पूर्वाधारको अभाव, पूर्वाधार विकासमा भौगोलिक चुनौती एवं आर्थिक स्रोत परिचालनको अभाव, कर्मचारी परिचालन र व्यवस्थापनमा चुनौतीजस्ता विषयहरू कर्णालीका गम्भीर समस्या भएको उनको तर्क छ।

clock सोमबार ०४, भदौ २०८० १४:२३

प्रतिक्रिया