एमाले अध्यक्ष ओली र भीम रावलको भेट भेटवार्ता, के के भयो कुराकानी ?

  मङ्गलबार ३०, साउन २०८० २०:५६

धनगढी । लामो समयदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहेका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

मंगलबार ललितपुरको पार्टी कार्यालय च्यासलमा भएको भेटपछि भीम रावलले पत्रकारहरूसँग छोटो कुराकानी गर्दै देशको स्थितिबारे छलफल भएको बताए। उनले आ-आफ्ना विचारहरू राख्ने र सामान्य कुराकानी भएको जानकारी दिए।

‘हाम्रोबीच भेट नभएको धेरै भएको थियो। र आज भलाकुसारी गर्‍यौं। के छ, कस्तो छ, र अहिले देशको स्थिति, पार्टीको अवस्था के छ, कस्तो छ। यसमा हाम्रा सोच दृष्टिकोणहरू के छ। त्यसमा सामान्य कुराकानी भयो। अब फेरि कुराकानी गर्ने भन्ने भयो,’ उनले भने।

रावल पार्टीमै रहे पनि कुनै पनि जिम्मेवारीमा छैनन्। पछिल्लो समय उनी पार्टीका गतिविधिमा निष्क्रिय नै छन्। रावललाई जिम्मेवारी दिनेबारे के छलफल भयो भन्ने पत्रकारले प्रश्‍न गरेका थिए।

त्यसबारे उनले भने, ‘होइन। हामीले अघि नै भनेका थियौं। धेरै लामो समयपछि भेटघाट भएको हो। अब उहाँ पार्टीको अध्यक्ष, अध्यक्षसँग धेरै देश९विदेशको बारेमा जानकारी हुन्छ। सूचना हुन्छ। अब म पनि अध्ययन गरिरहेको मान्छे। आफ्ना विचारहरू अहिलेको स्थिति के छ, कस्तो छ भन्ने कुराकानी भयो। अब फेरि कुराकानी गरौंला भन्ने भयो। यतिमात्रै भयो।’

२०७८ मा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा रावलले ओलीविरूद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए। त्यसपछि उनीहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहेको थियो। गत चुनावमा ओलीले रावललाई प्रत्यक्षतर्फ उम्मेदवार बन्न टिकट दिएका थिएनन्।

एमालेका पूर्वउपाध्यक्ष रावलले एमाले नेतृत्वको आलोचना गर्दै आएका थिए। गत चैतमा रावलसँग संवाद गर्न उपाध्यक्ष बिष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको थियो।

clock मङ्गलबार ३०, साउन २०८० २०:५६

प्रतिक्रिया