सुदूरपश्चिममा ‘लम्पी स्किन’का सक्रिय पशु संक्रमितको संख्या ९ हजार नजिक

  बुधबार २४, साउन २०८० १६:२३

धनगढी । सुदूरपश्चिममा लम्पी स्किनका सक्रिय पशु संक्रमितको संख्या करिब ९ हजार नजिक पुगेको छ। आवश्यक जनशक्ति, बजेट र खोपको व्यवस्था पर्याप्त नहुँदा यस प्रकारको रोग प्रदेशका नौवटै जिल्लामा फैलिसकेको छ। हजारौँको संख्यामा पशुहरु मरेका छन्।

प्रदेशका ८८ पालिकाभित्रै रोग फैलिएको भए पनि पर्याप्त मात्रामा खोप नहुँदा उपचार गर्न कठिनाई भइरहेको पशुचिकित्सकहरुले बताएका छन्। प्रदेशका सबै स्थानीय तहमा दरबन्दीअनुसार पशु चिकित्सक (भेटेरिनरी डाक्टर) छैनन्। यस्तो अवस्थामा गाई–भैँसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारलाई कठिनाइ उत्पन्न भइरहेको छ।

संघीयताअघि पशु चिकित्सकहरू शाखा अधिकृत तहबाट सेवा प्रवेश थालेका थिए। त्यतिखेर मेडिकल चिकित्सकलाई आठौँ तहमा र पशु चिकित्सकलाई सातौँ तहमा समायोजन गर्न थालिएको थियो। तर, अधिकांश स्थानीय तहले आफ्नो संगठन पुनर्संरचना गर्दा पशु चिकित्सकलाई छैटौँ तहमा सेवा प्रवेश गराउने व्यवस्था गरेका छन्।

तह नै घटाएर सेवा प्रवेश गराउने स्थानीय तहको नियमपछि पशु चिकित्सकहरू आकर्षित नभएको बताइन्छ। हरेक जिल्लामा पाँचदेखि नौ लाख बजेट विनियोजन गरी २५ साउनदेखि ३१ सम्म खोप लगाउने कार्यक्रम राखिएको छ। सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा रोग नियन्त्रणको क्रममा रहेको बताइएको छ।

सुदूरपश्चिममा अहिलेसम्म लम्पी स्किन रोगबाट तीन लाख २५ हजार ७ सय ९९ गाई–भैँसी संक्रमित भएका छन्। ८ हजार ७ सय ८१ सक्रिय संक्रमित रहेको, दुई लाख ९३ हजार दुई सय १९ निको भएको तथा २२ हजार ७ सय ९९ गाई–भैँसी परेको पशु सेवा विभागको तथ्यांक छ। अहिलेसम्म तीन हजार पशुहरुमा मात्र खोप लगाइएको छ।

clock बुधबार २४, साउन २०८० १६:२३

प्रतिक्रिया