राप्रपाका प्रवक्ता शाहिले गरे धनगढी एयरपोर्टमा यस्तो लफडा

  शनिबार २०, साउन २०८० १५:२७

धनगढी । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका पार्टी प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले धनगढी एयरपोर्टमा लफडा गरेका छन्। शाहीले एयरपोर्टको भीआईपी कक्षको विषयलाई लिएर लफडा मच्चाएका हुन्।

विमानस्थलको सुरक्षा स्रोतका अनुसार उनले आफ्ना सबै कार्यकर्तालाई प्रवेश दिनुपर्ने माग गर्दै शुक्रबार साँझ लफडामात्रै होइन प्रहरीलाई अभद्र व्यवहार समेत गरे।

शुक्रबार धनगढीबाट बुद्ध एयरको अन्तिम जहाजमार्फत काठमाडौँ गएका शाहीले आफूसँग गएका सबै कार्यकर्तालाई भीआईपी कक्षमा लैजान खोजेका थिए।

सो क्रममा सुरक्षाकर्मीले रोक्दा शाहीले राप्रपालाई मात्र रोक्ने भन्दै विमानस्थलको सुुरक्षामा खटिएका सुुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेका थिए।

शुक्रबार साँझ नै रास्वपाका सभापति रवि लामिछाने पनि बुद्ध एयरकै जहाजमा जाने भएका कारण भीआईपी कक्षमा ठाउँ अभाव थियो। सोही कारण सुरक्षाकर्मीले सबै कार्यकर्ता भीआईपी कक्षमा पठाउन सक्ने अवस्था थिएन।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले पनि राप्रपाका सांसद शाहीले सबै कार्यकर्तालाई भीआईपी कक्षमा प्रवेश दिनुपर्ने माग गरेपछि केहीबेर तनाव सिर्जना भएको बताए।

विमानस्थल कार्यालयले भीआईपी कक्षमा भीडभाड बढी हुँदा भीआईपीमाथि हुुनसक्ने सुरक्षा चुनौतीका कारण पनि १०/१२ जना भन्दा बढीलाई प्रवेश गर्न नदिने जनाएको छ।

तर, शाहीले एक दर्जन बढी कार्यकर्ता सँगै लैजान खोज्दा एयरपोर्टमा विवाद भएको थियो। सो घटनालाई राप्रपाले पनि दुस्खद मानेको छ।

clock शनिबार २०, साउन २०८० १५:२७

प्रतिक्रिया