सुदूरपश्चिममा मन्त्री छनोटलाई लिएर नागरिक उन्मुक्तिभित्र चर्को विवाद

  बुधबार १७, साउन २०८० १६:०२

धनगढी । सुदूरपश्चिम प्रदेशमा मन्त्रीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र असन्तुष्टि सिर्जना भएको छ । नाउपाको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउन गरेको निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि सिर्जना भएको हो ।

पार्टी नेतृत्वबाट मन्त्री बनाउने आश्वासन पाएपछि गत बैशाखमा प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले असन्तुष्टि जनाएका छन् । ‘यार गद्दार निकला । राजनीतिक पाखण्डवाजको घनघोर भर्त्सना गर‌ौं’, चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

चौधरीले आफ्नो स्टाटस मन्त्री छनोटको निणएयप्रति लक्षित भएको बताए । ‘संगठन एजेन्डाले बन्छ, व्यवहारले बिग्रिन्छ । राजनीति गर्छु भन्ने नाममा पाखण्डवाद मौलायो ।

त्यसको विरोधमा बोलेको हुँ’, चौधरीले भने, ‘हाम्रो पार्टी नीति, विधि तथा पद्धतिअनुसार चल्न सकेको छैन । नीतिगत रुपमा मास्ने र अवसरबाट वञ्चित गराउने परिपाटी हाबी भयो ।’

चौधरीले पाँच वर्षसम्म जनप्रतिनिधिविहीन भएको टीकापुरले अधिकार, पहिचान र विकासका लागि ठूलो क्षति व्यहोरेको बताउदै अहिले टीकापुरलाई पूर्वाग्राही व्यवहार गरिए विरोध गर्ने बताए ।

नागरिक उन्मुक्ति पार्टीले गत बैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाएर जिम्मेवारी फेरेको थियो ।

उनीहरुको ठाउँमा संसदीय दलको नेता घनश्याम चौधरी र प्रमुुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिएको थियो । संसदीय दलका नेता घनश्याम चौधरीले एक मन्त्री र राज्यमन्त्री मात्र पाएकाले भागवण्डा मिलाउन समस्या भएको बताए ।

उनले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णय सर्वसम्मत रुपले गरिएको बताउदै अन्य प्रदेशसभा सदस्यहरुको पनि सम्मानजनक व्यवस्थापन गरिने बताए ।

‘हामी ७ जना प्रदेशसभा सदस्य छौँ । सातै मन्त्री बन्ने अवस्था छैन नि । हाम्रो पार्टीबाट दुई जना मात्र मन्त्री बन्ने हुन्’, चौधरीले भने, ‘उहाँ (लक्ष्मणकिशोर) लगायतका सबै माननीयज्यूहरुको पनि उचित व्यवस्थापन गरिन्छ ।’

clock बुधबार १७, साउन २०८० १६:०२

प्रतिक्रिया