धनगढीका राना थारु गाउँमा साउनको डोलाको रौनक

  बुधबार १७, साउन २०८० १२:०७

धनगढी । पश्चिम तराइका दुई जिल्ला कैलाली र कञ्चनपुरका रानाथारु गाउँमा साउनको डोलाको रौनक छाएको छ । रानाथारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला (पिङ) राखेका छन् । साउन महिनाको शुरूमै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोबास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ ।

सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । राना थारु समुदायले साउन महिनामा घर तथा समुहमा पिङ हालेर खेल्ने गर्दछन् । यसलाई उनिहरुको समुदायमा डोला भन्ने चलन छ । साउन १५ गते तिज मनाउने राना थारु समुदायले त्यसअघी डोला खेल्दै रमाइलो गर्ने गर्दछन् । परम्परागत परिधानमा सजिएका राना थारु महिला आफ्नै पारामा गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् ।

सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजु भाइले दिदीबहिनीका लागि पिङ राख्ने चलन पुरानै रहेको छ । यो चलन परम्परागत रूपमा चल्दै आएको । दिदीबहिनीले पिङमा मच्चिदै रमाइलो गर्दै माङ्गलिक गीत गाउने गर्दछन् । पिङलाई रानाथारु भाषमा डोला भन्ने गरिन्छ । ४ वटा काठको खावाँमा डोरीमा काठको फल्याक बाधेर पिङका रूपमा प्रयोग गरिन्छ ।

धनगढी उपमहानगरपालिका १५ उर्माकी सिन्टोला रानाका अनुसार तिजबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने बिश्वास रहेको छ । दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामना गरी साउन १५ गते अवसरमा तिज मनाउने गर्दछौँ उनले भनिन् “निरहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् ।

साउन शुरु संगै तिजको रौनक छाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ, त्यसरी हालिएको पिङलाई डोला भनिन्छ ।” पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् उनले भनिन् “यो पर्वले दाजुभाइ, दिदीबहिनीबीच आत्मीयता थप प्रगाढ बनाउने विश्वास रहेको छ ।”

श्रावण तृतियाका दिन डोलाको पुजा गर्दै फुकाल्ने चलन रहेका धनगढी उपमहानगरपालिका १५ उर्माकै निर्मला रानाले बताइन् । परम्परागत रितिरिवाज अनुसार चलेको राना तिजलाई १५ दिनसम्म डोला खेलेर मनाउने गर्दछौँ उनले भनिन् “रानाथारू संस्कृतिमा परापूर्वकालमा बेहमैयाले तिजको व्रत बसेको र त्यहीँबाट यसको सुरुवात भएको विश्वास छ, शिव–पार्वतीले बेहमैयालाई आफ्ना भाइभतिजाका लागि व्रत बस्न र दीर्घायु कामनाका साथ गडरौदामा गाँठो पारेर नदीमा बगाउनु भनेपछि व्रत बस्ने चलन सुरु भएको हामीले पुर्खाहरुबाट पाएको उपदेश हो ।”

परापुर्व कालदेखी मनाइदै आएको राना थारु तिज तथा डोला पर्व पछिल्लो समय कार्यक्रममा मात्रै सिमित हुन थालेको छ । नयाँ पुस्ताले सामाजिक सञ्जालबाट प्रभावित हुँदै आफ्ना संस्कृती भन्दा बाह्य संस्कृती अगांल्न लागेको भन्दै चिन्ता बढेको छ । संस्कृती संरक्षणका लागी आम राना थारु समुदाय संगै राज्यपनि गम्भिर बन्नुपर्नेमा राना थारु नागरिक अगुवाहरुले जोड दिएका छन् ।

आजभोली टिकटक र फेसबुकले सबै संस्कृती बिगारेको छ धनगढीका राम मिलन रानाले भने “घाँगरिया भन्दा हाम्रा दिदि बहिनिहरु सारी लाएर तिज बनाउने गरेका छन्, अनी कहाँबाट संस्कृती संरक्षण हुन्छ, हाम्रा ज्येष्ठ सदस्यहरुले यसको संरक्षण बारे जानकारी दिनुपर्छ र राज्यले संरक्षणमा लगानी गर्नुपर्छ ।”

यस पर्वलाई जीवित राख्नका लागि प्रत्येक वर्ष गाउँमा सावनको डोला राख्ने कार्य गर्दै आएका छन् । गाउँका दिदीबहिनीले समेत यस कार्यमा साथ दिँदै आएका छन् । पछिल्लो समय धनगढी उपमहानगरपालिकाले राना थारु संस्कृती संरक्षणका लागी लगानी समेत गरिरहेको उपमहानगरकी उपमेयर कन्दकला रानाले बताइन् । उपमहानगरले सबै संस्कृतीको सम्मान गर्दै संरक्षणमा जोड दिएको जनाएको छ ।

धनगढी उपमहानगरपालिका १५ उर्मामा आयोजित डोला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उप मेयर रानाले उपमहानगर सबै संस्कृतीको जगेर्ना गरिरहेको बताइन् । यहाँ सबै जातजाती र धर्मका मानिसहरुको बसोबास छ उनले भनिन् “हामी सबै संस्कृतीको संरक्षण र जगेर्ना गर्दैछौँ, राना थारु तिजलाई संरक्षण र सम्बद्र्धनका लागी हामीले केही कार्यक्रमपनि ल्याएका छौँ, ति कार्यक्रम कार्यान्वयन हुन्छन, यसका साथै सिपमुलक कार्यक्रममा महिलाहरुलाई जोडेर परम्परागत पहिरनको उत्पादनपनि हामी बढाउँदैछौँ ।”

clock बुधबार १७, साउन २०८० १२:०७

प्रतिक्रिया