सहकारीले समयमा रासायनिक मल नल्याएपछि कञ्चनपुरका किसान समस्यामा

  बुधबार १९, कार्तिक २०८२ ११:१४     रासस

कञ्चनपुर ।  सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन् ।

अनुदानको मल वितरणको जिम्मा पाएका सहकारीहरुले कृषि सामग्री कम्पनीबाट रासायनिक मल नलग्दा किसानहरु समस्यामा परेका हुन् । किसानले हिउँदे बाली लगाउने समय भइसक्दा समेत सहकारीहरु मल लिन नआएको कृषि सामग्री कम्पनी कञ्चनपुरका प्रमुख हेमराज जोशीले जानकारी दिनुभयो । 

रासायनिक मल वितरणका लागि कृषि सामग्री केन्द्रमा दर्ता भएका सहकारीले असोज मसान्तसम्ममा नवीकरण गरेर १० दिनभित्र कोटाको रासायनिक मल लगिसक्नुपर्ने प्रावधान भए पनि हालसम्म सहकारीहरु नवीकरण गर्नसमेत नआएको उहाँले बताउनुभयो । 

“यहाँ मल वितरणका लागि १५४ वटा सहकारी दर्ता भएका छन् जसमध्ये असोज मसान्तसम्म २० वटा सहकारीले मात्रै नवीकरण गरेका छन्”, कार्यालय प्रमुख जोशीले भन्नुभयो, “सहकारीहरुले समयमा मल नलग्दा समस्या भएको छ ।” 

उहाँले कञ्चनपुरमा रासायनिक मल अभाव नरहेको बताउँदै सहकारीले समयमा मल नलग्दा किसान समस्यामा पर्ने गरेको बताउनुभयो । “हामीले सिधँै किसानलाई मल बिक्री गर्न मिल्दैन, सहकारीमार्फत कोटाअनुसार मल वितरण गर्ने हो”, उहाँले भन्नुभयो, “सहकारीले मल लिन नआएपछि पालिकाहरुलाई पत्राचार गरेका छौँ ।” 

हाल कञ्चनपुरका नौ वटा स्थानीय तहमा कोटाअनुसार सहकारीलाई मल वितरण गरिँदै आएको छ । “रासायनिक मल आउनेक्रम जारी छ, एक चरणको कोटाको मल हामीले वितरण गरिसकेका छौँ”, जोशीले भन्नुभयो, “अहिलेसम्म मल अभाव भएको छैन हामीसँग पर्याप्त मल मौज्दात छ ।” 

उहाँका अनुसार हालसम्म ५०० मेट्रिकटन डिएपी वितरण भइसकेको छ । एक हजार १०० मेट्रिकटन डिएपी मौज्दात छ । त्यसैगरी युरिया ५०० मेट्रिकटन वितरण भइसकेको छ भने ३०० मेट्रिकटन गोदाममा मौज्दात रहेको छ । अहिले पनि रासायनिक मल आउनेक्रम जारी रहेकाले मलको अभाव नहुन कृषि सामग्री केन्द्रले जनाएको छ ।

यहाँका किसानहरुले भने समयमा रासायनिक मल नपाउँदा हिउँदे बाली लगाउन समस्या भएको गुनासो गरेका छन् । “कृषि सामग्री कम्पनीले सिधँै किसानलाई मल दिँदैन सहकारीमार्फत दिन्छ”, बेदकोट नगरपालिका–६ का कृषक सेटसिंह रानाले भन्नुभयो, “हामीले तरकारी लगाइसक्यौँ मल पाएका छैनौँ अहिले  सहकारीमा जाँदा मल छैन भन्छन् ।” 

सहकारी नियमनको जिम्मेवारी स्थानीय तहको भए पनि प्रभावकारी रुपमा सहकारीको नियमन नहुँदा सहकारीहरु जिम्मेवार नबनेका किसानको बुझाइ छ । “सरकारले सहकारीमार्फत मल वितरण गर्छ, तर धेरै सहकारी निष्क्रिय जस्तै छन् ।” 


भीमदत्त नगरपालिका–८ का कृषक वीरसिंह थापाले भन्नुभयो, “कृषि सामग्री कम्पनीमा जाँदा मल पर्याप्त छ भन्छन् सहकारीले मल छैन भन्छ यसको नियमन गर्ने स्थानीय तहले हो त्यो हुन नसक्दा हामी समस्यामा परेका छौँ ।” रासस

clock बुधबार १९, कार्तिक २०८२ ११:१४     रासस

प्रतिक्रिया